प्रदेश ३ लाई समृद्ध बनाउँछौँ : मुख्यमन्त्री पौडेल



प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ लाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा विकास गरिने बताएका छन् । प्रदेश ३ मा कृषि, पर्यटन र उद्योग तीनवटै क्षेत्रमा राम्रो सम्भावना रहेकाले तीनवटै कामलाई प्राथमितामा राखेर अघि बढ्ने उनको भनाइ थियो ।

चितवन उद्योग संघले भरतपुरमा सुरु गरेको पाँचौँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले चितवन आर्थिक गतिविधिका हिसाबले धेरै अघि रहेको समेत बताए । ‘शक्तिखोरमा स्थापना हुँदै गरेको आद्योगिक क्षेत्रले चितवनसहित समग्र प्रदेश नम्बर ३ कै विकासमा थप टेवा पुग्नेछ,’ उनले भने, ‘आमकिसान र उद्योगीले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि सरकारले ध्यान दिनेछ ।’

किसानका उत्पादनलाई बजारीकरणका लागि प्रर्दशनीले निकै सहयोग पुर्‍याउने विश्वाससमेत व्यक्त गरे । रोजगारी सिर्जना नभएसम्म मुलुक र प्रदेश समृद्ध नहुने भन्दै मुख्यमन्त्री पोडेलले आर्थिक विकासका लागि आमनागरिक उत्पादनमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दावा दोर्जे लामाले प्रदेश ३ कृषि र पर्यटनको विकासको नमूना प्रदेश बन्ने विश्वास व्यक्त गरे । प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले चितवनमा उद्योग, पर्यटन र कृषिको विकास र प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गरिएको बताए ।

‘दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनीमा ८५ प्रतिशत औद्योगिक सामान, उपकरण र १५ प्रतिशत स्थानीय कृषि उत्पादनका स्टलसहित दुई सयभन्दा बढी स्टल राखिएको प्रर्दशनीका प्रचार समितिका संयोजक मदन घिमिरेले जानकारी दिए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्