बच्चाको उमेर हेरेर उनीहरूसँग व्यवहार गर्नुपर्ने हुन्छ । ४–५ वर्षको उमेरलाई जीवनको फाउन्डेसनका रूपमा पनि लिइन्छ । यो उमेरको बच्चाले जस्तो सिक्यो, जीवनभर उसमा त्यही छाप रहिरहन्छ । यही समयमा बच्चाको मस्तिष्कको विकास हुन्छ । यो उमेरमा पोसिलो खानेकुरा, राम्रो वातावरण भएन भने बच्चालाई जीवनभर असर गर्छ ।
बच्चा के चाहन्छ ?
४ देखि ५ वर्षको उमेरका बच्चाले खेलको माध्यमबाट धेरै कुरा सिक्छन् । आफ्ना धेरै रहर खेलेरै पूरा गर्छन् । हाँस्नु, खेल्नु, चकचक गर्नु उनीहरूको स्वभाव हो । जे गर्छन्, उनीहरू त्यहीबाट मजा लिइरहेका हुन्छन् । बच्चाले सानो–सानो कुरा सेयर गर्छन् ।
सानो कुरा सोध्ने गर्दछन् । उनीहरूले सोधेका प्रश्नको जवाफ नदिँदा उनीहरूमा नकारात्मक दबाब पर्ने गर्दछ । त्यसैले, उनीहरूले सोधेको कुराको जवाफ दिनुपर्छ । यदि गाली ग¥यो भने मानसिक असर पर्छ । बच्चाको अगाडि चिन्ता, दुःख व्यक्त गर्नुहुँदैन ।
सानो उमेरमा स्कुल हाल्नु गलत
पछिल्लो समय २ वर्षको उमेरदेखि बच्चालाई स्कुल पठाउने गरिन्छ । स्कुलमा पारिवारिक वातावरण हुँदैन । सानै उमेरमा घरपरिवारबाट टाढा राख्दा उनीहरूको मनमा धेरै कुरा खेल्छन्, मनमा डर तथा भय उत्पन्न हुन्छ । आमाबाट टाढा भएका बच्चाहरू सपनामा बोल्ने, पिसाब गर्ने स्वभावका हुन्छन् । सानैमा पढ्न लगाउँदा उनीहरू क्रियटिभ हुँदैनन् । त्यसैले, सानैमा स्कुल पढाउनु उपयुक्त हुँदैन ।
डर देखाउनु गलत
अभिभावकहरू कहिले भूतको कुरा गरेर त हिंसाका घटना सुनाएर बच्चालाई डर देखाउने गर्छन् । त्यसले बच्चामा मानसिक असर पर्छ । यस्ता बच्चाहरू सानो कुरामा डराउने स्वभावका हुन्छन् ।
बच्चा कसरी खुसी हुन्छ
बच्चाहरू सानो–सानो कुरामा खुसी हुन्छन् । उमेर बढ्दै जाँदा खुसी पनि कम हुँदै जान्छ । बच्चाहरूलाई दण्ड दिएर बानी सुधार्न सकिँदैन । उनीहरूलाई विभिन्न खानेकुरा, पशुपक्षी मन पर्छ । यो वेला शारीरिक मानसिक विकासका लागि पोसिलो खानेकुरा दिनुपर्छ । यो वेला बच्चाले राम्रो व्यवहार पाएन भने उसको विकास राम्रो हुँदैन ।
बच्चाले कसरी सिक्छ ?
बच्चाले आफैँ सिक्छ । सानोमा बच्चा धेरै क्रियटिभ हुन्छन् । सानैमा गाडी, प्लेन, भाँडाकुटी खेलेर उनीहरू पारिवारिक कल्पना गरिरहेका हुन्छन्, धेरै सिकिरहेका हुन्छ । भविष्यमा निभाउनुपर्ने भूमिकाबारे उनीहरू सानैदेखि तयार हुन थाल्छन् ।
उनीहरू, अरूको कपी गरेर पनि धेरै कुरा सिक्छन् । घर–परिवारले जस्तो व्यवहार गर्छ, बच्चाले त्यस्तै सिक्ने हो । उनीहरू काँचो माटो हुन् । असल वा खराब बन्ने कुरा अभिभावक र उनीहरू हुर्किएको वातावरणमा निर्भर रहन्छ । त्यसैले आमा–बाबुले बच्चाका लागि पर्याप्त समय दिनुपर्ने हुन्छ । (नयाँ पत्रिका)