काठमाडौं २५ चैत: मुआब्जा विवादले बथनाह-विराटनगर रेल मार्ग निर्माणमा अबरोध भएको छ। अधिकांश जग्गाधनीले मुआब्जा लिइसके पनि केहिले मुआब्जाका विषयमा विवाद झिकेपछि रेलमार्ग निर्माणमा अबरोध भएको हो। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रदेश १ सरकारका प्रतिनिधि र भारतीय अधिकारी तथा निर्माणको काम गरिरहेको ठेकदार कम्पनीका प्रतिनिधिका विचमा भएको छलफलका क्रममा भारतीय पक्षले विद्युत पोल तथा मुआब्जा विवादले निर्माणमा समस्या निम्त्याएको बताएका थिए ।
भारतीय अधिकारीहरूले निर्माणमा भइरहेको अबरोध नेपाल पक्षले तत्काल अन्त्य गरे निर्धारित समयमै काम सम्पन्न हुने दाबीसमेत गरेको भौतिक पूर्वाधार मन्त्रालयका प्रशासन, योजना तथा अनुगमन महाशाखाका उपसचिव अशोक साहले बताए । मन्त्रालयका प्रवक्तासमेत रहेका साहले प्रदेश सरकारले गरेको अनुगमनका क्रममा भारतीय अधिकारी तथा ठेकदार कम्पनीले रेलमार्ग निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग माग गरेको जानकारी दिए।