काठमाडौं २५ चैत: इतिहासमा पढ्न पाइन्छ– राजा सिद्धिनरसिंह मल्ल कवि थिए । उनले थुप्रै गीत लेखेका छन् । भजनका रूपमा श्रुतिपरम्परामा रहँदै आएको झन्डै चार सय वर्ष पुरानो तिनै गीतहरू अब सबैले सुन्न पाइने भएको छ ।
लामो समयको अनुसन्धानपछि संगीतकार जुगल डंगोलले ३६ वटा गीतलाई ‘दाफा भजन’का रूपमा ‘नोटेसन’ बनाएर रेकर्ड गराएका हुन् । संस्कृतिविद् छत्रबहादुर कायस्थको खोज अनुसन्धानका आधारमा संगीतकार डंगोलले ‘नोटेसन’ तयार पारेका थिए ।
मल्लद्वारा रचित दाफा भजनहरू श्रुतिपरम्पराबाटै पुस्तान्तरण हुँदै आएका थिए । यसरी पुस्तान्तरण हुने क्रममा गीतको शब्द तथा भाव अस्पष्ट हुने र रागहरू अशुद्ध गाउने क्रम बढेपछि संस्कृतिविद् कायस्थ र संगीतकार डंगोलले राग र गीतलाई लिपिबद्ध र रेकर्ड गराएर एल्बमको स्वरूप दिएका हुन् ।
दाफा भजनका रूपमा ललितपुरको नेवार समुदायले गाउँदै आएको गीत ३२ वटा मात्रै प्रचलनमा थिए । ‘अनुसन्धान गर्दै जाँदा ३६ वटा भेटिए,’ संस्कृतिविद् कायस्थले भने । ललितपुर संस्कृति संवद्र्धन केन्द्रको चौथो वार्षिकोत्सवका अवसर शनिबार एल्बम लोकार्पण गरियो ।
‘श्रुतिपरम्पराबाट सीप हस्तान्तरण गर्दा सही तरिकाले हस्तान्तरण हुन नसकेकाले नै दाफा भजनहरू लोपोन्मुख अवस्थामा पुगेको थियो,’ वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले भने, ‘यी गीतहरूको शैली र भाव बेजोड छन् ।’
‘गीत र रागलाई एल्बम निकालेर मात्रै हुँदैन,’ शताब्दी पुरुष जोशीले भने, ‘यसलाई नयाँ पुस्तासम्म पुर्याउन इम्प्रोभाइज गर्दै लानु पनि आवश्यक पनि छ ।’ केन्द्रले ललितपुर महानगरपालिका र विश्व बैंकसँगको सहकार्यमा सिद्धिनरसिंह मल्लका गीत र रागहरूको खोजी गरी प्रकाशमा ल्याएको हो । ‘एल्बम आएपछि अब नयाँ पुस्ताका लागि पनि सजिलो हुने भयो,’ केन्द्रका अध्यक्ष रामप्रसाद जोशीले भने । गीतहरू नसंचा गुठीका रामकृष्ण ताम्राकार, केशवकृष्ण श्रेष्ठ, रुद्र ताम्राकार, काजीबाबु महर्जन, बाबुकाजी महर्जन, श्याम गोविन्द ताम्राकार, सानलाल ताम्राकार, ज्ञानलाल अवाल, अनिश ताम्राकार र मलिक ताम्राकारले गाएका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।