काठमाडौं, २५ चैत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको ओपनिङ खेलका लागि प्लेइङ ११ को नाम सार्वजनिक भएको छ । नेपाली समय अनुसार आइतबार साढे ४ बजे सुरु हुने खेलका लागि दिल्लीका प्लेइङ ११ सार्वजनिक भएको हो ।
नेपाली क्रिकेट प्रेमिहरुले समेत निकै चासोका साथ हेरेका नेपाली ‘लेग ब्रेक बलर’ सन्दीप लामिछाने अटाउन सकेनन् । दिल्लीले किंग्स इलेभेन पञ्जावको सामना गर्दैछ । आइतबार दिल्लीको टिममा गौतम गम्भीर, कोलिन मुनरो, रिसव पन्त, श्रेयस ऐर, क्रिस मोरिस, विजय शंकर, ड्यानियल क्रिस्टियन, अमित मिश्रा, राहुल तेवाटिया, ट्रेन्ट बोल्ट र मोहम्मद सामी रहेका छन् ।
आईपीएलमा पहिलो पटक यसवर्ष नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध भएका छन् । त्यसैले दिल्लीको खेल हुँदा सन्दीपले खेल्न पाउने वा नपाउने भन्ने विषय नेपाली क्रिकेटप्रेमीबीच चासोको विषय बनेको थियो । छनोट क्रमदेखि नै चर्चामा रहेका सन्दीपले अन्ततः पहिलो खेल खेल्न नपाउने भएका हुन् ।
यसअघि दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले सन्दीपलाई आजको खेलमा महत्वपूर्ण जिम्मेवारी दिईने बताएका थिए ।