प्रधानमन्त्री स्वदेश फिर्ता
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणलाई बनावटी बनाउनुभन्दा व्यवहारमै देखाउन थोरै तर महत्वपूर्ण सम्झौता गरेको दाबी गरेका छन्। ‘हामीले बाहिर देखाउनकै निम्ति धेरै विषयमा छलफल गरेका छैनौं,’ भारतको राजकीय भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने, ‘तर जुन विषयमा छलफल भयो ती ऐतिहासिक छन्। यिनीहरूलाई कार्यान्वयनमा लैजान दुवै देश गम्भीर भएर लाग्नेछौं।’
प्रधानमन्त्री ओलीले भ्रमणमा तराई क्षेत्रमा हुने डुबान, पञ्चेश्वर, सुस्ता, नयाँ हवाई रुट, नेपाली ग्यास बुलेटलगायत विषयमा गम्भीर छलफल गरेको जानकारी दिए। उनले भने, ‘यी विषयमा गम्भीर छलफल भएको छ। विषयलाई उछाल्नेभन्दा वार्ताबाट छिट्टै समाधान गर्ने कुरा भएको छ।’ उनले आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरे। ‘भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको छ’, उनले भने, ‘हामीबीच खुलस्त कुराकानी भयो। दुई देशबीच विश्वासको वातावरण बनेको छ, यसलाई आगामी दिनमा थप सुधार गर्दै जानुपर्छ।’
भ्रमणले दुई देशबीच पारस्परिक विश्वास वृद्धि गर्दै सम्बन्धलाई मित्रवत् बनाउँदै लैजाने ओलीले उल्लेख गरेका छन्। ‘कसैले बिगारेन भने दुई देशको सम्बन्ध राम्रो हुँदै जान्छ’, विमानस्थलमा उनले भने, ‘हामी बिगार्दैनौं तर कसैले बिगारे हाम्रो के लाग्छ र ? ’ उनले नेपाल–भारत सम्बन्धबारे प्रकाश पार्दै भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन होला।’
देखाउनकै लागि सम्झौता गरेनौं
जुन विषयमा छलफल भए, ती ऐतिहासिक
उछाल्नेभन्दा वार्ताबाट छिट्टै समाधान गर्ने
विश्वासको वातावरण बनेको
कसैले नबिगारे सम्बन्ध राम्रो हुने
नेपाली जनमतको भारतले सम्मान गर्यो
मित्रताका आधारमा नेपालले वैदेशिक सम्बन्ध अघि बढाउन चाहेको उल्लेख गर्दै ओलीले आफूले भारत भ्रमणका क्रममा यसलाई व्यावहारिक रूपमा जोड दिएको बताए। उनले भने, ‘पारस्परिक हित, एकअर्काको सार्वभौमसत्ता, स्वाभिमानको सम्मानका आधारमा सम्बन्ध हुनुपर्छ भन्ने हाम्रो नीति हो, सोहीअनुसार भारतसँग कुरा गर्यौं।’ लोकतान्त्रिक प्रक्रियामार्फत नेपाली जनताले दिएको जनमतको भारतले सम्मान गरेको ओलीले दाबी गरे।
उनले संयुक्त पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको जनमतको स्वागत गरेको जनाए। ओलीले जलमार्ग, रेलमार्ग र कृषिसम्बन्धी भएका सम्झौता कार्यान्वयन गर्नेगरी दुवै देश अगाडि बढिसकेको उल्लेख गरे। प्रतिबन्धित भारतीय मुद्रा (नोटबन्दी) बारे राखिएको जिज्ञासामा भने ओलीले कुनै जवाफ दिएनन्। ओलीले दिल्ली जानुअघि संसद्मा यस विषयमा कुरा उठाउने बताएका थिए। यसअघि भारतीय विदेशसचिव विजय गोखलेले नोटबन्दीका विषयमा नेपाली पक्षले कुनै चर्चा नगरेको जानकारी दिएका थिए।
भ्रमणमा तराई क्षेत्रमा हुने डुबान, पञ्चेश्वर, सुस्ता, नयाँ हवाई रुट, नेपाली ग्यास बुलेटलगायत विषयमा गम्भीर छलफल गरेको प्रधानमन्त्रीले जानकारी दिए।
विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणका बेला भएका सहमतिबारे विज्ञप्ति वाचन गरेका थिए। विज्ञप्तिमा भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको र भएका सम्झौता ऐतिहासिक भएको उल्लेख छ। शनिबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको द्विपक्षीय भेटपछि १२ बुँदै संयुक्त विज्ञप्ति जारी गरिएको थियो।
प्रधानमन्त्री ५४ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमण गएका थिए। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, त्यहाँका राष्ट्रपति, उपराष्ट्रपति, भारतीय नेता, नागरिक समाज, व्यापारी र कलाकारसँग छुट्टाछुट्टै छलफल गरेका थिए। उनले दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरूसँग पनि छलफल गरेका थिए। भारतबाट फर्केका प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
ओलीलाई विद्यावारिधि
प्रधानमन्त्री ओलीलाई भारतको उत्तराखण्डस्थित डा.गोविन्द वल्लभ कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ। भारत भ्रमणको अन्तिम दिन उत्तराखण्ड पुगेका ओलीलाई विश्वविद्यालयले आइतबार डाक्टर अफ साइन्समा मानार्थ विद्यावारिधि प्रदान गरेको हो। प्रधानमन्त्रीले सम्मान ग्रहण गर्नुअघि विश्वविद्यालय प्रांगणमा रुद्राक्षको बिरुवा रोपेका थिए। ओलीले त्यहाँको ब्रिडर सिड प्रोडक्सन सेन्टरको पनि अवलोकन गरेका थिए। भारतको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको पहलमा स्थापित उक्त विश्वविद्यालयमा कृषि प्रविधिमा अध्ययनअनुसन्धान हुने गर्छ। (अन्नपुर्ण पोस्ट)