किन भएन अरुण तेस्रोको शिलान्यास ?



काठमाडौं २६ चैत: प्रधानमन्त्री भारत भ्रमणको क्रममा बहुचर्चित जलविद्युत अरुण तेस्रोको शिलान्यास गर्ने कार्यक्रम रहेको थियो तर हुन सकेनन् । दुई प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत् परियोजनाको संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम अन्तिम अवस्थामा स्गगित भयो । भारतको सरकारी कम्पनी सतलज पावर लिमिटेडको लगानीमा बन्न लागेको आयोजनाको शिलान्यास अन्तिम समयमा रोकिनुमा दुईवटा कारण रहेको दिल्लीस्थित कूटनीतिक स्रोतहरूले बताएका छन् । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

पहिलो सो आयोजनाको लगानी व्यवस्थापन भए पनि भारतमा विद्युत् खरिद सम्झौता ‘पिपिए’ हुन सकेको छैन । नेपाललाई दिने निःशुल्क विद्युत्बाहेक सबै विद्युत् निर्यात गर्ने गरी यो आयोजना बन्न लागेको हो । दोस्रो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै नेपाल भ्रमण गर्ने र सोही समयमा आयोजनाको शिलान्यास गर्ने विषयमा पनि दुई देशका प्रधानमन्त्रीबीच समझदारी भएको पनि स्रोतले उल्लेख गरेको छ ।

१ खर्ब १६ अर्ब रुपैयाँ लागतमा बन्न लागेको परियोजनाबाट ९ सय मेगावाट विद्युत् उत्पादन हुनेछ । उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत नेपालले सित्तैमा पाउनेछ भने २५ वर्षपछि नेपाललाई परियोजना हस्तान्तरण गरिनेछ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ०७१ साउन दोस्रो साता लगानी बोर्ड र प्रवद्र्धक भारतीय कम्पनी सतलज जलविद्युत् निगमबीच यसअघि नै परियोजना विकास सम्झौता ‘पिडिए’ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्