कांग्रेसका पाँच शुभेच्छुक संस्थाहरूमा देउवा पक्ष अल्पमत



काठमाडौं २६ चैत: पछिल्लो समय अधिवेशन भएका कांग्रेसका शुभेच्छुक संस्थाहरूमा संस्थापन पक्ष अल्पमतमा परेको छ । पाँच शुभेच्छुक संस्थाको अधिवेशनमा सभापति शेरबहादुर देउवानिकट अधिकांश उम्मेदवार पराजित भएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

नेपाल शिक्षक संघको अधिवेशनबाट सुरु भएको संस्थापन पक्षको पराजय यात्रा नेपाल प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसनको अधिवेशनसम्म पनि रोकिएको छैन । पाँचवटै संस्थाको नेतृत्व मात्रै होइन, संस्थापन पक्षले केन्द्रीय समितिमा बहुमतसमेत गुमाएको छ ।

प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसनमा पण्डित

प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसनको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले पराजित भए । नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार शंकरप्रसाद पण्डितले ५४४ मत प्राप्त गरे भने काफ्लेले ३८९ मत मात्रै पाए ।

१५ सदस्यीय कार्यसमितिमा पाँच पदाधिकारी र नौ सदस्य पण्डित समूहले जितेको छ । काफ्ले समूहबाट केन्द्रीय सदस्यमा विकास पोखरेल मात्र निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पण्डित समूहबाट उपाध्यक्षमा लक्ष्मण केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा भूपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा सञ्जय पाण्डेसहित कार्यसमितिका सदस्यमा सरोज राई, सन्तोष कुँवर, अशोक अर्याल, सन्तोषबहादुर क्षेत्री, भीषण भुजेल, सञ्जयराज अधिकारी, मदन पुरी निर्वाचित भएका छन् ।

सार्वजनिक कर्मचारी संघमा भट्टराई

नेपाल सार्वजनिक कर्मचारी संघको ४१ सदस्यीय कार्यसमितिमा संस्थापन पक्षका दुई सदस्य मात्रै निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट पौडेल पक्षका उम्मेदवार जनार्दन भट्टराईले संस्थापन पक्षका उम्मेदवार मणिल ओझालाई पराजित गरे । भट्टराईले ३६० मत ल्याउँदा ओझाले १५४ मत पाए ।

भट्टराई विद्युत् प्राधिकरण र ओझा नेपाल टेलिकममा कार्यरत कर्मचारी हुन् । सार्वजनिक कर्मचारी संघमा विद्युत् प्राधिकरण, टेलिकम, खेलकुद परिषद्, खाद्य संस्थान, सिटिइभिटी, खानेपानी संस्थान, केयुकेएललगायत सार्वजनिक संस्थानमा कार्यरत कांग्रेसनिकट कर्मचारी आबद्ध छन् ।

वित्तीय कर्मचारी संघमा रेग्मी

वित्तीय कर्मचारी संघको अधिवेशनमा पनि संस्थापन पक्ष पराजित भएको छ । वल्र्ड ट्रेड सेन्टरमा शुक्रबार सम्पन्न अधिवेशनमा पदमराज रेग्मीले संस्थापन पक्षका उम्मेदवार रमेश रावललाई पराजित गरे ।

रेग्मीले १२८ र रावलले ९१ मत ल्याए । अध्यक्ष, उपमहासचिव, कोषाध्यक्ष र खुला सदस्यका सबै पदमा पौडेल समूहका उम्मेदवार निर्वाचित भएका छन् । वित्तीय कर्मचारी संघमा बैंक र इन्सुरेन्स गरी ४५ वित्तीय संस्थाका कांग्रेसनिकट कर्मचारी सदस्य छन् ।

त्यसअघि अधिवेशन भएका नेपाल शिक्षक संघ र नेपाल निजामती कर्मचारी युनियनमा पनि संस्थापन पक्षका उम्मेदवार पराजित भएका छन् । कर्मचारी युनियनमा पौडेल पक्षका गोपाल पोखरेलले संस्थापनका राजेन्द्र बुढाथोकीलाई पराजित गरे । त्यस्तै, शिक्षक संघमा पौडेल पक्षकै राजेन्द्र पौडेलले संस्थापनका बहालवाला अध्यक्ष केशव निरौलालाई अध्यक्षमा पराजित गरे ।

अधिवेशन भएका संस्था र अध्यक्ष

प्रजातान्त्रिक इन्जिनियर्स एसोसिएसनमा शंकरप्रसाद पण्डित, सार्वजनिक कर्मचारी संघमा जनार्दन भट्टराई, वित्तीय कर्मचारी संघमा पदमराज रेग्मी, नेपाल शिक्षक संघमा राजेन्द्रराज पौडेल र नेपाल निजामती कर्मचारी युनियनमा गोपालप्रसाद पोखरेल कांग्रेसको १३औँ महाधिवेशनअघि वर्तमान सभापति शेरबहादुर देउवा समूहले शुभेच्छुक संस्था नेपाल शिक्षक संघबाट जित्न सुरु गरेको थियो ।

यसपटक देउवा समूहले शिक्षक संघबाटै हार्न सुरु गरेको छ । पौडेल समूहलाई कृष्णप्रसाद सिटौला समूहले पनि सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्