काठमाडौं, २५ चैत
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानकाे हलमा २ सय वटा नयाँ कुर्सी राखिएको छ ।
आकाशमा जहाज धेरैबेर होल्ड हुँदा विमानस्थलको प्रस्थान कक्षमा यात्रुको भिड जम्मा हुने गरेको छ । तर, धेरै यात्रुले कुर्सी पनि नपाएको गुनासो गरेपछि पर्यटनमन्त्री रविन्द्र अधिकारीको निर्देशनमा नयाँ कुर्सी राखिएको विमानस्थलले जनाएको छ ।
सुरक्षा जाँच भैसकेर जहाज चढ्न ठिक्क परेका सयौं यात्रु उभिनु परेको भन्दै विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले अब अन्तराष्ट्रिय यात्रु उभिनु नपर्ने बताउनुभयो । कुर्सी पनि नहुँदा निकै गाह्रो हुने गरेको यात्रुको गुनासो पछि पर्यटनमन्त्री रविन्द्र अधिकारीले यात्रुलाई सहज हुने वातावरण मिलाउन निर्देशन दिनुभएको थियो ।
यस्तै विमानस्थलमा जहाजको चाप धेरै हुँदा अनेक समस्या आएको भन्दै २१ घन्टा विमानस्थल चलाउनको लागि अध्ययन सुरु भएको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री अधिकारीले अाइतबार मात्रै आन्तरिक उडान कक्षतर्फ पनि २० दिनमा कम्तिमा १ सय कुर्सी राख्न निर्देशन दिनुभएको हाे ।
अहिले त्रिभुवन विमानस्थलमा दैनिक ४ सय उडान हुने गरेका छन । औसतमा २ मिनेट ४२ सेकेन्डमा उडान र अवतरण हुने गरेको छ । अधिकारीले गएको चैत १६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको योजना अघि सार्नुभएको थियो ।
१८ बुँदा सार्वजनिक गर्दै मन्त्री अधिकारीले सय दिनमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल सुधार गर्ने दाबी गर्नुभएको थियो । यस्तै, एयर ट्राफिकमा देखिएको समस्या समाधान गरी विमानस्थललाई २१ घन्टा सञ्चालन गराउने अधिकारीको योजना थियो ।