दैनिक १६ पटक सूर्योदय–सूर्यास्त देखिने गरि अन्तरिक्षमा बन्नेछ सुविधासम्पन्न होटल



काठमाडौं, २६ चैत

अमेरिकाको हाउस्टनमा रहेको ओरियन स्प्यान नामक कम्पनीले सन् २०२१ को अन्त्यसम्म अन्तरिक्षमा सुविधासम्पन्न होटलको निर्माण गर्ने बताएको छ । औरोरा स्टेशन नाम दिइएको उक्त होटलमा एक पटकमा चारजना यात्री र दुई चालक दलका सदस्य बस्न सक्ने बताइएको छ ।

सन् २०२२ सम्म अन्तरिक्ष पर्यटकका लागि खुल्ला गरिने उक्त होटलमा १२ दिन बस्नका लागि ९५ लाख अमेरिकी डलर (९८ करोड रुपैयाँ) भुक्तान गर्नुपर्ने छ । यदि कसैले एक रात मात्र बिताउन चाहे ७ लाख ९१ हजार ६ सय ६६ डलर (८ करोड २२ लाख रुपैयाँ) तिर्नुपर्नेछ । ८० हजार डलर (८३ लाख रुपैयाँ) धरौटी राखे अनलाइनमार्फत होटल रिजर्भ गर्न सकिने कम्पनीका अधिकारीले जानकारी दिएका छन् ।

‘अन्तरिक्ष हाम्रो सभ्यताको अन्तिम सीमा भएकाले हामी मानिसहरुलाई त्यहाँसम्म पुर्याउन चाहन्छौं,’ ओरियन स्प्यानका संस्थापक फ्रांक बंगर बताउँछन् ।

उक्त होटलबाट दैनिक १६ पटक उदाउँदो र अस्ताउँदो सूर्य देख्न सकिने बताइएको छ ।

९० मिनेटमा धर्ती परिक्रम गर्नेछः

उक्त अन्तरिक्ष होटलले ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्नेछ । अर्थात्, यहाँ बस्ने पाहुनाले हरेक २४ घण्टामा करिब १६ पटक सूर्योदय र सूर्यास्त देख्नेछन् ४३.५ फिट लम्बाई र १४.०१ फिट चौडाईको यो होटलमाथि सन् २०१५ देखि काम सुरु भएको बताइन्छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्