धनुषा, २६ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भनेपछि प्रदेश नम्बर–२, को प्रदेशसभा बैठकमा विवाद भएको छ ।
आइतबार बसेको प्रदेश नम्बर २ को ११ औं प्रदेशसभा बैठकमा राजपा नेपालका प्रदेश सांसद मनिष सुमनले प्रधानमन्त्री ओली संघीयता विरोधी हो भनेर पटक–पटक बोलेपछि विवाद भएको हो ।
राजपा सांसद सुमनले पटक–पटक ओली संघीयता विरोधी भनेपछि अपमान गरेको भन्दै नेकपा एमालेका प्रदेश २ का सांसदीय दलका नेता सत्यनारायण मण्डलले टेबुल ठोक्दै सभामुख सरोज यादवलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यसपछि एमालेका प्रदेश सांसदहरुसमेत उठेर सुमनको विरोध गरेका थिए । विवाद भएपछि झण्डै १ मिनेट संसाद बैठक अवरुद्ध भएको थियो । एमाले संसदीय दलका नेता मण्डलले सभामुखलाई ध्यानाकर्षण गराउँदै सांसदहरुलाई सभाहलमा मर्यादित भएर सभ्य भाषा बोल्न आग्रह गर्नुभयो ।
त्यस अघि बैठकमै नेकपा माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले प्रधानमन्त्री ओली मधेश विरोधी भएको भन्दै पटक–पटक ओलीको आलोचना गर्नुभएको थियो । लगत्तै नेकपा एमालेका प्रदेश सांसद किशोरी साह कमलले आफ्नो निर्धारित समयमै माओवादीका प्रदेश सांसद जगत यादवलाई शिष्ट भाषा प्रयोग गर्न र होस पुर्याएर बोल्न आग्रह गर्नुभएको थियो । -उज्यालो