आइपीएलमा केएल राउलको किर्तिमानी अर्धशतक



कोलकाता, २६ चैत

इंन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गरेको छ ।

आरसीबीले प्रस्तुत गरेको १७७ रनको लक्ष्य कोलकाताले १९ औँ ओभरमा ६ विकेट गुमाएर पछ्यायो ।

आइपीएलमा केकेआरले आरसीबीलाई हराएको यो लगातार तेस्रो पटक हो । २०१७ को सिजनमा पनि केकेआरले आरसीबीलाई दुई पटक हराएको थियो ।

केकेआरका लागि ओपनर सुनिल नारायणले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । यस क्रममा उनले ५ छक्का र ४ चौका हिर्काए ।

कप्तान दिनेश कार्तिकले नटआउट रहँदै ३५ तथा नितिश रानाले ३४ रनको योगदान दिए ।

आरसीबीका लागि क्रिस वोक्सले ३ तथा उमेश यादवले २ विकेट लिए ।

यसअघि, पहिलो ब्याटिङ गर्दै आरसीबीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।

आरसीबीका लागि एबी डिभेलिर्सले ४४ तथा ब्रान्डम म्याकलमले ४३ रनको योगदान दिए । त्यस्तै कप्तान विराट कोहलीले ३१ रन बनाए ।

आइतबार भएको अन्य खेलमा किङ्ग्स इलेभेन पञ्जाबले दिल्ली डेयर डेभिल्सलाई ६ विकेटले पराजित गर्यो ।

दिल्लीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पञ्जाबले मात्र ४ विकेट गुमाउँदै पछ्यायो ।

पञ्जाबका ओपनर केएल राहुलले आइपीएलको सबैभन्दा छिटो अर्धशतक लगाए । म्यान अफ द म्याच घोषित राहुलले मात्र १४ बलमा अर्धशतक बनाए । यसक्रममा उनले ४ छक्का र ६ चौका हिर्काए ।

त्यस्तै, करुण नायरले पनि अर्धशतक बनाएका थिए ।

अन्त्यतिर डेभिड मिलर र मार्कस स्टोइनसले नटआउट रहँदै क्रमशः २४ र २२ रन बनाउँदै टोलीलाई जीत दिलाए ।

पहिलो ब्याटिङ गरेको दिल्लीले कप्तान गौतम गम्भिरको अर्धशतकको मद्दतले ७ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्