सनातन धर्ममा कुन ग्रन्थ र देवता ठूला हुन् ?  



काठमाडौँ, २६ चैत २०७४

हाम्रो बुझाईमा, सत्ययुगमा सबै सत्यवादी मानिसहरु थिए । तर सबै धार्मिक थिएनन् । सत्य नै धर्म थियो, कर्म नै धर्म थियो । धर्मका नाममा दर्शन
थिएन ।

ध्रुवप्रसाद घिमिरे

त्रेता युगमा धर्मको नाममा दर्शन शुरु भयो । राम-राज्यको वारेमा सबैलाई ज्ञात थियो । मानिसहरु धर्मसँग जोडिएका धार्मिक दर्शनमा अघिपछि लाग्थे । अनुभूति सत्यलाई सत्य मान्न थालेका थिए । राज्यको परिकल्पना र विस्तारको समय थियो । यद्धपी उक्त समय सत्य र अहंकारको युद्ध थियो ।

द्वापर युगमा द्वन्द, थिचोमिचो, भोगी जीवनले प्रभाव पार्यो । यहि समयमा धार्मिक सम्प्रदाय छुट्टिन थाल्यो । महाभारत जस्तो युद्ध भयो । घरपरिवार, दरवार, धनी-गरिवको भावना विकास भयो ।

कलियुगमा प्रयोगात्मक भन्दा व्याख्यात्मक धार्मिक दर्शनको विकास भयो । कपोकल्पित किम्बदन्तीहरुलाई कथा बनाएर धर्मको नाममा लाद्न थालियो । ऋषिमुनिका नाममा ज्ञान नभएकाहरुले गुरुकुल चलाए । पाठशाला अर्थात गुरुकुलको माध्यमबाट कर्मकाण्ड नै धर्म हो भन्ने प्रचार गरे/गराए । धर्म संरक्षक तथा धार्मिक अभियन्ताको प्रभाव कम भएपछि नैतिक शिक्षाका पाठ्यक्रम तथा पाठ्यपुस्तक विस्थापित गराईए । धर्मका नाममा ठगीखानेहरुको संख्या बढ्यो । धार्मिक अभियन्ताहरुले आफ्ना चरित्र ढाकछोप गर्दै हिड्न थाले । हरेक धार्मिक जागरणको नाममा धर्मगुरुहरूले व्यक्तिगत सम्पति जोड्न थाले । आकृतिमा ठूला मन्दिर, गुम्बा बनाएर बाठा र बलियाहरुले व्यक्तिगत लाभ लिन थाले । धर्मको नाममा झुटको खेती हुन थाल्यो । जसले गर्दा धर्म/संस्कृति त बिग्रियो नै समाज पनि दुषित बन्न पुग्यो । छलकपटको माध्यमले आर्थिक उपार्जनको लागि मानवले अमानवीय कार्य गर्न पनि थाले ।

बदलिँदो समयसँगै हामी सनातन धर्मालम्बीहरु एकै धर्म भित्र अनेकौं मार्ग र संस्कारमा विभाजित भयौं । सनातन ग्रन्थहरुको अपव्याख्या गर्दै आफू अनुकुल व्याख्या गर्याै/गरायौ । आफ्नो स्वार्थको लागि एउटा गन्तव्यमा फरक-फरक मार्गहरु विभाजित गरायौं । धर्मगुरुहरुले आफ्नो प्रभाव फैलाउन पढेका, जानेबुझेका, ज्ञान भएका भक्तहरु बनाउनु पर्नेमा आफूलाई सहयोग र समर्थन गर्ने विना ज्ञानका अन्धभक्त बनाउने अभियान नै चलाए । गुरुहरुले दिएका ज्ञानलाई चेलाहरुले अझ आफू अनुकुल व्याख्या गर्दै अपब्याख्याका श्रृंखलाहरु थपिदैं  गए । परिणामत: धर्मको नाममा एकअर्काको सफलतामा खुशी बाड्ने र अप्ठ्यारोमा सहयोग आदानप्रदान गर्ने मानवीय भावनाको पनि अन्त्य भयो ।

हाम्रा पुर्खा वा ऋषिमुनिले छोडेका संस्कार र संस्कृति दिन प्रतिदिन अलोकप्रिय बन्दै गए । शिक्षाको कमीले गर्दा धर्मका प्रचारकहरुको कर्मले समाजमा प्रभाव कम पर्यो । सामाजिक विकासको चरणमा धर्म, संस्कृतिलाई जोगाउन चाहने वा मानव हितमा प्रयोग गर्न चाहनेहरुलाई समेत दुविधा पर्यौ । यो एक्काइसौं शताब्दी ज्ञान र विज्ञानको मिश्रित शताब्दी हो । त्यसको लागि नयाँ पुस्तालाई कि अनुभव गराउन सक्नु पर्छ कि त्यो विज्ञान सम्मत हुनुपर्छ ।

काल्पनिक कथाहरु पढेर वा पढाएर हाम्रो धर्म र संस्कृतिलाई बुझ्न/बुझाउन सकिन्छ त ? हाम्रो सनातन संस्कृतिलाई बुझ्न/बुझाउन कुन ग्रन्थ पढ्नु/पढाउनु पर्छ ? कुन ग्रन्थ र देवता ठूला हुन् भन्ने प्रश्नमा कसरी सबैको समान धारणा विकास गर्न सकिन्छ ?

हामी सबैलाई थाहा छ, हाम्रो धर्म र संस्कृतिलाई बचाउनु/बुझाउनु र नयाँ पुस्तामा सही रुपमा हस्तान्तरण गर्नु नितान्त जरुरी छ । हामी जस्तो ईच्छुक मानिसले कसरी बुझ्न र धारण गर्न सकिन्छ? धर्मलाई कसरी बुझ्न, बुझाउन र धारण गर्न सकिएला ? अरु धर्मका एउटा पुस्तकले सबै ज्ञान दिन सक्ने तर हाम्राले किन दिन नसक्ने ?  समाजसेवा, रुपान्तरण र धार्मिक अभियान चलाएर समाजको रुपान्तरण भएकाहरुले अब सोच्ने बेला आएन र ?

 

 

प्रतिक्रिया दिनुहोस्