२ साताभित्रै स्थानीय तहमा २० हजार कर्मचारी पठाइने



काठमाडौं २७ चैत: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई साताभित्र कम्तीमा २० हजार कर्मचारीलाई एकैसाथ स्थानीय तहमा खटाउने तयारी गरेको छ । गृहकार्य अन्तिम चरणमा पुगेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरेर स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी पठाउन लागेको उनले बताए । ‘सरुवा मापदण्ड अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘मापदण्ड स्वीकृत भएसँगै त्यसकै आधारमा सार्वजनिक सूचना निकाल्ने तयारीमा छौँ ।

त्यही सूचनाअनुसार करिब २० हजार कर्मचारी स्थानीय तहमा खटिँदै छन् ।’ उनले एक–दुई दिनमै स्थानीय तहमा कर्मचारी खटाउन सार्वजनिक सूचना प्रकाशित हुने बताए । स्थानीय तहमा व्यवस्थित रूपमा कर्मचारी खटाउन मन्त्रालयले सरुवाको मापदण्डसहितको सूचना निकाल्न लागेको जनाएको छ ।

तर, मन्त्रालयले टेरेनन् मन्त्री पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघको मन्त्रालयमा दरबन्दी मिलान गरी बढी भएका कर्मचारीलाई स्थानीय तहमा खटाउने तयारी गरिरहेको हो । तर, सामान्य प्रशासनको तयारीमा अन्य मन्त्रालयले असहयोग गरेको मन्त्रालय स्रोतले जनायो ।

मन्त्रालयले संघको अन्तरिम दरबन्दी स्वीकृत भइसकेको सन्दर्भमा दरबन्दी मिलान गरेर बढी भएका कर्मचारीको विवरण पठाइदिन पत्र लेखेको थियो । २२ चैतमा मन्त्रालयले ३ दिनको समय दिएर सबै मन्त्रालयलाई पत्र लेखेको हो ।

तर, कुनै पनि मन्त्रालयले आजसम्म मन्त्रालयमा बढी भएका कर्मचारीको विवरण नबुझाएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

तोकिएको समयमा दरबन्दीभन्दा बढी कर्मचारीको विवरण नबुझाएपछि सामान्यले पुनः स्मरण गराउँदै सबै मन्त्रालयलाई यथाशीघ्र कर्मचारी विवरण उपलब्ध गराउन सोमबार अर्को पत्र काटेको छ । एक महिनाभित्र स्थानीय तहमा कर्मचारी खटाउने घोषणा गरेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको कदममा सिंहदरबारबाटै असहयोग सुरु भएको छ । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्