काठमाडौं २८ चैत: सरकारले नेपाल प्रहरीको महानिरीक्षक ‘आइजिपी’मा सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । त्यस्तै, सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्वेन्द्र र शैलेन्द्रलाई दुई प्रहरी संगठनको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकपछि सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले सर्वेन्द्रलाई प्रहरी सेवा नियमावली, २०७१ र शैलेन्द्रलाई सशस्त्र प्रहरी बल सेवा नियमावली, २०७२ अनुसार नियुक्त गरिएको बताए । उनले भने, ‘नेपाल प्रहरीमा आइजिपीका रूपमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । सत्रस्त्र प्रहरीमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । सरकारको यो निर्णय ०७४ चैत २९ गतेबाट लागू हुनेछ ।’
नेपाल प्रहरीमा आइजिपीको दौडमा सर्वेन्द्रसँगै डिआइजीद्वय रमेश खरेल र पुष्कर कार्की पनि थिए । तर, डिआइजी सर्वेन्द्रलाई गृह मन्त्रालयले नेपाल प्रहरीको भावी आइजिपीका रूपमा सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले उनकै पक्षमा निर्णय गरेको हो ।
सशस्त्रमा भने एआइजी पुष्पराम केसी र नारायणबाबु थापा दौडमा थिए । गृह मन्त्रालयले सशस्त्रको भावी आइजिपीका रूपमा गृहले सिफारिस गरेको शैलेन्द्रको नाम मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो ।
दुवै प्रहरीको नेतृत्व नियुक्त गर्नुअघि प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच छलफल भएको थियो । छलफलमा सहमति जुटेपछि गृहमन्त्री थापाले मन्त्रिपरिषद् बैठकमा नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्रलाई भावी नेतृत्वका रूपमा नियुक्त गर्न प्रस्ताव लगेका थिए । नेपाल प्रहरीमा डिआइजीमा बढुवा हुँदा सर्वेन्द्र १ नम्बरमा थिए । सशस्त्रमा शैलेन्द्र एआइजीमा एक्लो उम्मेदवारका रूपमा बढुवा भएका थिए ।
एसएसपीकै कासमुका आधारमा सर्वेन्द्र आइजिपी
सरकारले एसएसपी छँदाकै कार्य सम्पादन मूल्यांकन ९काममू०का आधारमा सर्वेन्द्रलाई आइजिपीमा नियुक्त गरेको हो ।
नियमअनुसार नेपाल प्रहरी कासमू प्रत्येक आर्थिक वर्षको अन्त्यमा मात्रै तयार गरिन्छ । सर्वेन्द्रसँगै बढुवा भएका रमेश खरेल, पुष्कर कार्की र धिरु बस्नेत आठ महिनाअघि मात्रै एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए।
त्यसैले आइजीका दौडमा रहेका कुनै पनि उम्मेदवारको कासमू तयार पारिएको थिएन । यसकारण सरकारले आइजिपी नियुक्तमा डिआइजीको कासमू हेर्न सकेन । एसएसपीबाट डिआइजीमा बढुवा हुँदाको वरिष्ठतालाई आधार मानेर आइजिपी नियुक्त गर्यो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।