वायु मापदण्डभन्दा ७ गुणा बढी प्रदुषित उपत्यकाको वायु



काठमाडौं २८ चैत: उपत्यकाका सडक र आसपासका क्षेत्रमा प्रदूषणको मात्रा तीव्र भइरहँदा वायुमण्डलमा समेत प्रदूषण उच्च छ । तोकिएको राष्ट्रिय मापदण्डभन्दा ७ गुणाभन्दा बढी प्रदूषण वायुमण्डलमा पाइएको छ ।

उपत्यकाको वायुमण्डलको प्रदूषण अवस्था पत्ता लगाउन ड्रोनमार्फत अनुगमन गर्दा बिहानको समयमा प्रदूषणको मात्रा उच्च देखिएको हो । ड्रोनले भक्तपुरको सानोठिमीको वायुमण्डल विभिन्न चरणमा अनुगमन गर्दा बिहानको समयमा वायुको गुणस्तर राष्ट्रिय मापदण्डभन्दा ७ गुणा बढी नाघेको पाइएको हो । सरकारले तोकेको वायुको गुणस्तर ४० माइक्रोग्राम प्रति घनमिटर हो ।

मुलुकको वायु गुणस्तर पत्ता लगाउन सतही वायुमापन यन्त्र प्रयोग हुँदै आएकोमा यही प्रयोजनका लागि पहिलोपटक ड्रोन प्रयोग गरिएको दाबी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई असर नपर्ने गरी सानोठिमीमा ड्रोन उडान अनुमति दिएपछि विश्व विद्यालय अनुदान आयोग परिसर र आसपासको खुला ठाउँमा ड्रोनले प्रदूषण अनुगमन गरेको हो । ड्रोनले मंगलबार बिहानदेखि साँझसम्म विभिन्न चरणमा सानोठिमीको वायुमण्डलको २ सय ५० मिटर आसपासको उचाइसम्म प्रदूषण अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बिहान ७ बजे आसपासको समयमा २ सय ९० माइक्रोग्राम रहेको वायुमण्डलको प्रदूषण १० बजे ५० माइक्रोग्राममा झरेको थियो । सोही आसपासको उचाइमा ड्रोन उडाउँदा ३ बजे ५० र साँझ साढे ५ बजे ४० माइक्रोग्राममा प्रदूषण घटेको पाइएको अध्ययन टोलीका संयोजक प्राडा रामप्रसाद रेग्मीले जानकारी दिए। काठमाडौं भित्रिने उत्तर–पश्चिमी र दक्षिण–पश्चिमी वायुले प्रदूषणलाई काभ्रेका साँगा र नाला भञ्याङतर्फ धकेल्ले हुनाले उपत्यकाको वायुमण्डलको प्रदूषण बिहान ११ बजेपछि क्रमशः घट्ने गरेको उनले बताए। यो समाचार आजको नेपाल समाचार पत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्