चीन र अमेरिका व्यापार युद्धमा कसले जित्ला ?



काठमाडौं २८ चैत: संसारभरका कूटनीतिज्ञका अनुसार अब देशबीचको युद्ध जमिन, आकाश र पानीमा होइन, अपितु आर्थिक तथा व्यापारिक नीतिमार्फत हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चीनविरुद्ध यस्तै प्रकारको युद्ध सुरु गरेको आरोप लागिरहेको छ । अमेरिकाले चीनबाट आउने सामानमा अकल्पनीय शुल्क लगाउने निर्णय गर्नासाथ चीनले पनि सोही शैलीमा जवाफ दिएको छ ।

अमेरिकाबारे भनिँदै छ कि जुन देश संसारभर खुला अर्थ व्यवस्थाको प्रवक्ता रहँदै आएको छ, उही आज संरक्षणवादको पक्षमा उभिन थालेको छ । चीनलाई लिएर ट्रम्पको आर्थिक नीति र घोषणालाई चिनियाँ मिडियाले आफ्नो देशविरुद्ध अमेरिकाको व्यापारिक युद्ध बताइरहेका छन् ।

सोमबार चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले लेखेको छ– चिनियाँ वस्तुमाथि अतिरिक्त शुल्क लगाउने घोषणाबाट व्यापारिक कलह बढेको छ र चीन यसको सामना गर्नका लागि प्रतिबद्ध छ ।

ग्लोबल टाइम्सले अगाडि लेखेको छ– तीन अप्रिलमा अमेरिकी व्यापारिक प्रतिनिधिले एउटा लामो सूचीको तस्बिर प्रकाशित गरेका थिए । यसमा बताइएको छ कि यी चिनियाँ सामानमाथि छिटै २५ प्रतिशत अतिरिक्त शुल्क लगाउन सकिन्छ । यो संसारकै दुई ठूला अर्थ व्यवस्थाबीच युद्धको सुरुवात हो ।

सो पत्रिकाले अगाडि लेखेको छ– अमेरिकाले चीनविरुद्ध जुन व्यापारिक युद्ध सुरु गरेको छ, त्यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो युद्ध हो । कैयौँ मानिस अमेरिकाको यस व्यवहारबाट हैरान छन् । भलै अमेरिकाले यसलाई सुरु गरेको छ, तर ऊ स्वयं गम्भीर समस्यामा छ ।

वाल स्ट्रिटमा यस निर्णयदेखि नै निराशा बढेको छ । अमेरिकी नागरिक निराश हुनुका ठोस कारण छन् । जसले ट्रम्पलाई राष्ट्रपति बनाए, उनीहरूकै जीवन थप कठिन हुनेवाला छ । प्रस्ट छ, ट्रम्पको निर्णयका कारण चीनमा निर्मित सामानको मूल्य बढ्नेछ ।

श्रमिक वर्गका लागि जागिरको खोजी कठिन हुनेछ । कैयौँ मानिस बेरोजगार हुनेछन् । यहाँ किसान वैश्विक बजारमा आफ्ना सामान राम्रो मूल्यमा बेच्न सक्नेछैनन् ।

ग्लोबल टाइम्सले थप लेखेको छ– व्यापार युद्ध ट्रम्प प्रशासनको समग्र नीतिको हिस्सा हो । यो फुटाउ नीति हो । ट्रम्प आफ्नो घरेलु नीतिलाई विदेश नीतिको हिस्सा बनाउन चाहन्छन् । चीनका साथमा अमेरिकाको व्यापार युद्ध उनको चुनावी नारातर्फ इसारा गर्छ ।

जसमा उनले ‘अमेरिका फस्र्ट’ को नारा दिएका थिए । उनी घरेलु राजनीतिमा निर्वाचन जित्नका लागि आर्थिक नीतिलाई निश्चित दिशा दिइरहेका छन् ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले शीतयुद्धको मानसिकताबाट पछि हट्ने चेतावनी दिँदै खुला अर्थ व्यवस्थाको वकालत गरेका छन् । चिनियाँ राष्ट्रपतिले बोआओ फोरम फर एसियामा बोल्दै भनेका छन्– चीनमा लगानी गर्ने विदेशी फर्ममाथि लाग्ने आयात शुल्कमा कटौती गरिनेछ ।

यद्यपि, सीले अमेरिकाको नाम भने लिएनन् । तर, यो प्रस्ट छ कि एकातिर ट्रम्प ‘अमेरिका फस्र्ट’ नीतिको वकालत गरिरहेका छन् भने अर्कातिर सी जिनपिङ खुला अर्थ व्यवस्थाको चर्चा गरिरहेका छन् ।

चिनियाँ राष्ट्रपति सीले फोरममा भनेका छन्– मानिसहरू अगाडि बढ्ने या पुरानो समयमा फर्किने विकल्प चयन गर्ने अन्योललाई लिएर जुधिरहेका छन् । आजको संसारमा शान्ति र सहयोगसाथ अगाडि बढ्ने विकल्प छ । अर्कातिर शीतयुद्धको मानसिकता अप्रासंगिक भएको छ । हामी एकसाथ मिलेर काम गर्नेछौँ र यसैमा सबैको उन्नति छ ।

अमेरिकाको आरोप छ कि चीन आफ्नो अर्थ व्यवस्था खुला गर्ने बाचाबाट पछि हटेको छ । अमेरिकाको भनाइ छ कि विदेशी कम्पनीलाई आफ्नो बजारसम्म पहुँच दिइरहेको छैन र उनीहरूलाई संयुक्त रूपमा लगानी गर्न विवश गरिँदै छ । यसका साथै अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति चोरीको आरोप पनि लगाएको छ ।

बिबिसी एसियाका बिजनेस संवाददाता करिस्मा वासवानीका अनुसार चिनियाँ राष्ट्रपति आफूलाई वैश्वीकरणका च्याम्पियनका रूपमा प्रस्तुत गरिरहेका छन् । जब–जब उनी वैश्विक मञ्चमा बोल्छन्, तबतब उनी वैश्वीकरणको वकालत गरिरहेका हुन्छन् ।

ग्लोबल टाइम्सको भनाइअनुसार व्यापार युद्धको उपयोग रणनीतिक रूपमा गरिँदै छ । पत्रिकाले लेखेको छ– ट्रम्प एक व्यापारी थिए र अझै उनी परिवर्तन भएका छैनन् । उनी एक राष्ट्रपतिभन्दा बढी एक व्यापारीका रूपमा व्यवहार गरिरहेका छन् । ट्रम्प चीनका साथमा ‘ट्रेड डेफिसिट’ अर्थात् व्यापार घाटा कम गर्न चाहन्छन् । राष्ट्रपति बन्नुअघि पनि ट्रम्प चीनमाथि गलत व्यापारिक नीति अपनाएको आरोप लगाउने गर्थे ।

ट्रम्पले आफ्नो निर्वाचन प्रचारमा अमेरिकाको व्यापार घाटा समाप्त गर्ने कुरा सशक्त रूपमा उठाएका थिए । उनी यस विषयलाई स्विकार्छन् कि व्यापार घाटाले अमेरिकामा हुने उत्पादनलाई हानि पु(याउँछ ।

उनले कैयौँपटक ट्विटरमा यससित जुध्नका लागि कदम उठाइने कुरा बताइसकेका छन् । ट्रम्प आफ्नो यस कदमबाट ओहायो जस्ता उत्पादक राज्यमा मतदातालाई लोभ्याउने कोसिस पनि गर्न सक्छन् । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्