काठमाडौं ३० चैत: कांग्रेस युवा नेता प्रदीप पौडेलले प्रजातान्त्रिक समाजवादको अभियानमाथि धावा बोल्ने समूह हाबी भएको बताएका छन् । अस्ट्रेलियाको सिड्नीमा सम्पन्न इन्टरनेसनल पोलिटिकल फोरमको बैठकमा उनले प्रजातान्त्रिक समाजवादको अभियानलाई कमजोर बनाउने गिरोहविरुद्ध विशेष रणनीतिसहित अघि बढ्नुपर्ने धारणा राखेका थिए । उनको विचारप्रति सहभागीहरूले समर्थन जनाएका थिए ।
प्रजातान्त्रिक समाजवादको अभियानलाई अझ सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धतासहित सम्पन्न फोरम बैठकले आपसी भाइचारा अभिवृद्धि गर्दै कानुनी शासनमा आधारित समुन्नत समाज निर्माणका लागि प्रजातान्त्रिक समाजवादको विकल्प नरहेको निष्कर्ष निकालेको नेता पौडेलले जानकारी दिए ।
अस्ट्रेलियन लेबर इन्टरनेसनलको आयोजनामा भएको बैठकले जुनसुकै आवरणमा हुने अतिवादको सशक्त प्रतिवाद गर्दै प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा आस्थावान्हरूको सञ्जाललाई थप संगठित बनाउने निर्णय पनि गरेको छ ।
बैठकमा सहभागीले नेपालमा प्रजातान्त्रिक समाजवादमा आस्था राख्नेहरूको बाक्लो समूह हुँदाहुँदै भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी हाबी भएको विषयमा नेता पौडेलको ध्यानाकर्षण गराएका थिए । बैठकमा एसिया प्रशान्त क्षेत्रका विभिन्न २१ देशका ४० जना प्रतिनिधिको सहभागिता रहेको थियो । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।