म्याग्दी, २ वैशाख
रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा रु एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।
विद्यालयको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा,काठमाडौँमा रहेका पूर्व विद्यार्थीले संकलन गरेको रु एक करोड ३३ लाख शनिबार उपलब्ध गराइएको हो ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा बेगखोला कल्याणकारी समाजका अध्यक्ष योगकुमार फगामीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामार्फत व्यवस्थापन समितिका अध्यक्ष नरसिङ पुनलाई सो रकम उपलब्ध गराउनुभयो ।
वि.सं २०२५ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधा सम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालित सहयोग संकलन अभियान जारी रहेको एनआरएनए बेलायतका अध्यक्षसमेत रहनुभएका फगामीले बताउनुभयो ।
स्वर्ण जयन्तीको अवसरमा मन्त्री थापाले विद्यालय भवनको शिलान्यास गर्नुभयो । कक्षा कोठा, कम्प्युटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षसहितको १५ कोठे भवन निर्माण गर्ने योजना रहेको छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत रहेका प्रअ धनबहादुर फगामी (विनोद)ले बताउनुभयो ।
यसअघि विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीको प्रोत्साहनका लागि प्रवासीले रु ३२ लाखको अक्षयकोष स्थापना गरेका थिए । यसैगरी बेगखोला घर भई हाल बेलायतमा बस्दै आउनुभएका पदमबहादुर पुर्जाले नौ थान ल्यापटप सहयोग गर्नुभएको छ । उहाँले यसअघि पाँच थान ल्यापटप उपलब्ध गराउनुभएको थियो ।
प्रवासमा रहेका बेगखोलावासीको अगुवाइमा चार वर्षअघि रु एक करोड २५ लाखको लागतमा बेगखोला बेग र तिप्ल्याङ बादुक सडक निर्माण भएको थियो । स्वर्ण जयन्तीको उद्घाटनपछि मन्त्री थापाले गाउँको विकासका लागि प्रवासमा रहेका बेगखोलावासीले उदाहरणीय काम गरेको बताउनुभयो ।
स्वर्ण जयन्तीको अवसरमा चन्दादाता, पूर्व प्रध्यानाध्यापक र व्यवस्थापन समितिका पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो ।