युएईमा नेपाली नयाँ वर्ष २०७५ लाई भव्य स्वागत



युएई १ वैशाख २०७५

युएईमा नेपालीहरुले विभिन्न कार्यक्रम गरि नयाँ वर्ष मनाएका छन । अप्रिल १३ तारीख शुक्रबार आबुधावीको कर्नेशमा आइकार्ड र साविया क्षेत्रमा बस्ने नेपालीहरुले भब्य रुपमा कार्यक्रम आयोजना गरेर नेपाली नयाँ वर्षलाई स्वागत गरेका छन ।

हप्ताभरीको ड्युटी सकेपछि फुर्सद हुने शुक्रबार त्यसमा पनि नयाँ वर्षको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सहित आयोजना भएको कार्यक्रममा सहभागिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पुर्ण नेपाली परिकारको स्वाद रहनेगरी तयार गरिएको खाना र स्थानिय कलाकारको लोकदोहोरीले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो । निर्धारित समयभन्दा केही ढिलो गरि शुरु भएको कार्यक्रममा उपस्थितिको लागि टाढा-टाढादेखि साथीहरु आउनुभएको भनी आयोजक मध्येका एक विपिन सापकोटाले जानकारी दिनुभयो । २०७४ साल जे जस्तो भएपनी आउँदो साल देशमा परिवर्तन होस, समृद्धि होस, रोजगारका अवसरहरु सिर्जना होउन र हामीले आफ्नै देशमा बसेर श्रम, व्यवसाय गर्न पाउन सकौं भन्दै एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा थप रौनक त तब थपियो जब आफ्नो निजि पारिवारिक भ्रमणमा रहनुभएका नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य रुपनारायण श्रेष्ठ पनि कार्यक्रम स्थलमा झुल्किनुभयो । उहाले कार्यक्रममा नयाँ वर्षको शुभकामना दिनुका साथै नेपालीहरुको कार्यक्रममा संयोगले आफू उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्नुभयो । एमाले नेता श्रेष्ठसंग परिचयात्मक तथा समसामयिक राजनैतिक घटनाक्रमका विषयमा कुराकानी भएको कार्यक्रम स्थलमा रहनुभएका एमाले निकट प्रवासी नेपाली मञ्चका महासचिव भेषराज ढकालले बताउनुभयो । वहाँले वैदेशिक रोजगारीका समस्या, सिमा सुरक्षा, पार्टी एकीकरण, प्रवास संगठनलाई एकीकृत पार्टीमा कस्तो सांगठनिक संरचना हुने लगायतमा नेपालीहरुले राखेका जिज्ञासाको जवाफ दिदै सबैलाई नयाँ वर्षको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमस्थलमा विभिन्न क्याम्पबाट सहज आवतजावतका लागि आयोजकले यातायातको व्यवस्था गर्नुका साथै शुद्ध नेपाली खाना नेपाली चुलो रेष्टुरेन्टले तयार गरेको बस व्यवस्थापन संयोजक सुमन तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्