इलामको चियामा बिदेशीको आकर्षण बढ्दो



इलाम, २ वैशाख

चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी ब्यापारी नेपाल आउन थालेका छन् ।

इलाममा चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया ब्यापारी आएका छन् । गुणस्तरीय चिया छनौट गरी खरिद गर्न आफुहरु नेपाल आएको अस्ट्रेलियाली नागरिकले बताए । चियाको स्वाद चाख्नुका साथै गुणस्तरीय र अर्ग्यानिक चिया खोजी गर्दै नेपाल आएको उनको भनाइ छ ।

सूर्योदय नगरपालिका र साना चिया उत्पादक तथा ब्यवसायी किसानले इलाममा आयोजना गरेको ‘तेस्रो चिया महोत्सव’ मा विदेशी व्यपारीहरु नेपाली चियाप्रति आकर्षित भएका हुन् । सूर्योदय नगरपालिका– ४, श्रीअन्तुमा भएको महोत्सवमा आठ देशका १७ जना नागरिकसमेत आएको चिया उद्योगी प्रभाकर प्रधानले बताए ।

२१ वटा साना चिया किसान तथा उद्योगीले उत्पादन गरेको चिया स्वाद परीक्षणका लागि राखिएको थियो । बिदेशी ब्यापारीले समेत नेपाली चियाप्रति आफुहरुको आकर्षण बढेको बताएका थिए ।

विदेशी चिया ब्यापारी घरघरमा आएर चियाको गुणस्तर जाँच्दै लैजानुले आफुहरुमा समेत गुणस्तरीय चिया उत्पादनमा हौसला बढेको किसान तथा चिया ब्यापारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्