काठमाडौं ३ वैशाख: वन्यजन्तु तस्करले विद्युतीय धरापमा बालकको ज्यान गएको घटनालाई लुकाउन पीडित पक्ष र स्थानीयलाई दबाब दिएको पाइएको छ । कैलालीको मोहना करिडोरमा पर्ने शिवशक्ति सामुदायिक वनभित्र तस्करले वन्यजन्तुलाई पासोमा पार्न धराप थापेका थिए ।धरापमा परेर गत शुक्रबार धनगढी उपमहानगरपालिका ११ बेलाका एक बालकको मृत्यु भएको थियो । अन्य ३ गम्भीर घाइते भएका थिए ।
घटनालाई गुपचुप राख्न तस्करले सामुदायिक वन समितिका पदाधिकारीमार्फत दबाब दिइरहेको पीडित पक्षको दाबी छ । ‘पदाधिकारीबाटै घटनालाई नचर्काउन भन्दै दबाब आइरहेको छ,’ घाइते अर्जुन खडायतका बुबा तेजबहादुरले भने, ‘यसबाट उपभोक्ता समिति पनि दोषमुक्त छैन भन्ने प्रस्ट बुझियो ।’
उनले जंगलमा धराप थाप्ने समूहलाई कारबाहीको दायरामा ल्याउन सक्रिय हुनुपर्नेमा सामुदायिक वन उपभोक्ता समितिकै पदाधिकारीले प्रहरी प्रशासन र सरोकारवालालाई उल्टै घटना गुपचुप राख्न दबाब दिएको भन्दै आक्रोश पोखे ।
‘अहिले म छोराको उपचारका लागि काठमाडौंमा छु,’ उनले भने, ‘सामुदायिक वन उपभोक्ता समितिले जंगलमा धराप थाप्नेलाई कारबाहीको दायरामा ल्याउने गरी काम नगरे उनीहरूविरुद्ध किटानी जाहेरी दिएर दोषीलाई कानुनी कठघरामा उभ्याई छाड्छु ।’
उपभोक्ता समितिले घाइते अर्जुन र सागर पनेरुलाई ५०/५० हजार र नवीन कठायतलाई २५ हजार उपचार खर्च उपलब्ध गराएको जनाएको छ । धरापमा मृत्यु भएका अमन चौधरीको परिवारलाई किरिया खर्च भन्दै २५ हजार दिएको छ । अर्जुनका बुबा तेजबहादुरले आफूले उपचार खर्च नबुझेको बताए । उनले समिति पदाधिकारीसँग वन्यजन्तुका तस्करको मिलेमतो भएको दाबी गरे ।
मृतक बालककी आमा वसन्ती चौधरीले भनिन्, ‘छोरो त गयो गयो, धराप थाप्ने अपराधी जेल जानैपर्छ ।’ अर्का घाइते नवीनका बुबा कर्णबहादुरले पैसा अभावमा छोराको उपचार गर्न नसक्ने अवस्थामा समितिबाट २५ हजार खर्च लिएको बताए ।
उनले पनि घटनालाई दबाउन खोजिएको बताए । ‘घटनाका दिन जंगलमा धराप थाप्नेलाई कारबाही हुनुपर्छ भन्दै माग राख्ने समुदाय पनि अहिले मौन छ,’ कर्णबहादुरले भने, ‘उपचार खर्च लिएर घटना नचर्काउन समिति अध्यक्षले दबाब दिइरहेका छन् ।’ उनले समितिबाट २५ हजार लिएर छोरालाई पुनस् अस्पताल भर्ना गरेको बताए । घटना भएको दिन घाइते नवीनलाई सेती अञ्चल अस्पतालबाट नेपालगन्ज रिफर गरिएको थियो । सिकिस्त अवस्थामा रहेका अर्जुन र सागरलाई काठमाडांै लगिएको थियो । नेपालगन्ज अस्पतालमा राम्रोसँग उपचार नहुँदै पैसा अभावमा कर्णबहादुरले छोरा नवीनलाई घर फर्काउनुपरेको थियो । समितिले उपचार खर्च भनेर शनिबार २५ हजार दिएपछि आइतबार पुनस् छोरालाई सेती अञ्चल अस्पतालमा ल्याएको उनले बताए । बालकको शरीरमा करेन्टले पोलेका घाउ छन् । अझै बिसेक हुन सकेको छैन ।
काठमाडाैंमा उपचार गराइरहेका अर्का घाइते सागरका बुबा भक्तबहादुरले पनि समितिबाट ५० हजार उपचार खर्च लिएको बताए । ‘उपचारका लागि पैसा अपुग भएपछि समितिबाट उपचार खर्च लिएका हौं,’ उनले भने, ‘यसको अर्थ दोषीलाई उन्मुक्ति दिनुपर्छ भन्ने होइन । धराप थाप्नेलाई कारबाही नगरे सामुदायिक वन समितिका पदाधिकारी जिम्मेवार हुनेछन् ।’
उनले प्रहरी प्रशासनलाई दबाब दिने गरी उपभोक्ता समितिले काम गर्दा अपराधीले उन्मुक्ति पाउने बताए । ‘उपचारका लागि घरबाट १ लाख ७५ हजार रुपैयाँ लिएर आएको थिएँ । सबै सकिसक्यो,’ उनले भने, ‘डाक्टरहरूले बच्चालाई ८ देखि १० महिनासम्म अस्पतालमा राख्नुपर्ने सुझाव दिएका छन् ।’ उपभोक्ता समिति अध्यक्ष जितबहादुर रानाले धराप थाप्ने समूहलाई खोजी गर्ने काम प्रहरी प्रशासनको भएको र केहीले आफ्नो भनाइलाई गलत अर्थ लगाएको बताए । ‘घटनापछि बालकको उपचार र राहतलाई जोड दिन खोज्यौं,’ उनले भने, ‘तर केहीले पीडितलाई पैसा दिएर मुखमा बुझो लगाउन खोज्यो भन्ने आरोप लगाए, त्यो गलत कुरा हो ।’
रानाले सामुदायिक वनभित्र भइरहेको वन्यजन्तु तस्करका पछिल्ला गतिविधि नियन्त्रण गर्न समितिले उपभोक्ता भेला बोलाउन लागेको बताए । ‘गहुँबाली भित्र्याउने सिजन भएकाले केही दिनपछि भेला बोलाउँदै छौं,’ उनले भने, ‘चोरी सिकार नियन्त्रण दलसमेत गठन गर्छौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
जिल्ला प्रहरीका डीएसपी वीरबहादुर बुढाले घटना अनुसन्धानमा उपभोक्ता समिति, पीडित र स्थानीयबाटै आवश्यक सहयोग प्राप्त नभएको बताए । ‘किटानी जाहेरीसमेत नपरेकाले ढिलाइ भइरहेको छ,’ उनले भने, ‘समुदायको सहयोग नभएकाले अनुसन्धानमा व्यवधान भएको हो ।’
आशंकामा पक्राउ परेका ८ जनामध्ये एकलाई वन मुद्दाअन्तर्गत कारबाही अगाडि बढाइएको छ । डीएसपी बुढाका अनुसार धनगढी उपमहानगरपालिका– ११ बेला गाउँका बम्बन चौधरीको घरबाट बँदेलको टाउको र विद्युतीय धराप थाप्न प्रयोग हुने तार फेला परेकाले वन ऐनअन्तर्गत कारबाही अगाडि बढाइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।