काठमाडौं, ३ वैशाख
एमाले र माओवादी पार्टी एकताको लागि लामो समयदेखि भएको छलफल पछि छाएको निराशातालाई उछेल्दै एकताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारबाट बामपन्थीका लागि खुशीको खबर आएको छ ।
केहि दिन अघि एमाले माओवादी पार्टी एकताको कामलाई थाँती राख्दै सिन्धुपाल्चोकको सुकुटे तर्फ हानिएको भन्दै सञ्चार माध्यममा आएको भ्रम चिर्नको लागि माओवादी अध्यक्ष प्रचण्ड सिधै बालुवाटार पुगेका थिए ।
एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अढाई घन्टाको वार्ता पछि एकीकरणकाृे मिति वैशाख ९ मा नै तोकिएको छ । जसको लागि पार्टी एकता संयोजन समितिको वैठक मंगलबार विहान बस्ने निर्णय भएको छ ।
प्रचण्ड र ओलीबीच एकीकरणका प्राविधिक कुरामा सहमति भएपछि संयोजन समितिमा कार्यदलले राखेको एकीकरणका प्रस्तावमा छलफल हुनेछ । प्रचण्ड–ओली छलफलमा दुवै पार्टीको सम्मानजनक एकतामा सहमति भएको छ । संख्या र पदमा भन्दा पनि दुई अध्यक्षको कार्याधिकारका विषयमा कुरा अड्कीएको थियो । त्यसको समाधानका लागि कार्यदलले दुवै अध्यक्षलाई वरिष्ठ हुने व्यवस्थाअनुसार अध्यक्षतालाई प्राथमिकता प्रस्तावमा तोकेको छ ।
‘भोली बस्ने बैठकमा ९ गते नै पार्टी एकीकरणको घोषणाको तयारी पनि हुनेछ । चित्त नबुझेका कुरामा बृहत छलफल हुनेछ । दुई अध्यक्षबीच भएको सहमतिका आधारमा निर्णय हुनेछ’, बालुवाटार स्रोतले भन्यो ।
गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र घोषणापछि औपचारिक रूपमा एउटा पार्टी बन्नेछन् ।