काठमाडौं, ३ वैशाख
इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाबले चेन्नाई सुपर किंग्सलाई चार रनले हराएर शानदार जित हात पारेको छ । कप्तान महेन्द्र सिंह धोनीले शानदार ७९ रनको योगदान दिए पनि चेन्नाइले हार्यो । यसअघिका दुवै म्याच चेन्नाइले जितेको थियो ।
मोहालीमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले सात विकेट गुमाएर निर्धारित २० ओभरमा १९७ रन बनाएको थियो । १९८ रनको विजय लक्ष्य पछ्याएको चेन्नाइले ५ विकेटको क्षतिमा १९३ रन मात्रै बनाउन सक्यो ।
चेन्नाईका लागि ओपनर शेन वाटसन र मुरली विजय क्रमशः ११ र १२ रनमा आउट भए । धोनीले नटआउट ७९, अम्बाती रायडुले ४९ र रविन्द्र जडेजाले १९ रन बनाए ।
बलिङतर्फ एन्ड्र्यु टाइले २ तथा मोहित शर्मा र रविचन्द्रन आश्विनले एक-एक विकेट लिए ।
यसअघि पन्जाबका लागि विष्फोटक व्याटिङ गर्दै क्रिस गेलले ३३ बलमा ६३ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।
यसैगरी लोकेश राहुलले ३७, मयंक अग्रवालले ३०, करुण नयरले २९, युवराज सिंहले २० र रविचन्द्रन आश्विनले १४ रन बनाएका थिए ।
बलिङतर्फ इमरान ताहिर र शार्दुल ठाकुरले २-२ विकेट लिए ।