कम्युनिस्ट अधिनायकवाद सुरु भइसक्यो : देउवा



काठमाडौं ४ वैशाख: प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले देशमा अधिनायकवाद सुरु गरेको आरोप लगाएका छन् । सरकारले मनोमानी ढंगले काम गरिरहेको बताउँदै प्रतिपक्ष दलसँग कुनै छलफल नगरेको उल्लेख गरेका छन् । नेपाल तरुण दलको आयोजनामा हेटौँडामा सुरु प्रदेश ३ स्तरीय प्रशिक्षण भेलाको सोमबार उदघाटन गर्दै उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । कम्युनिस्ट अधिनायकवाद सुरु भइसक्यो, मनोमानी बढ्यो ।’

देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको र उनी कहिल्यै राष्ट्रवादी बन्न नसक्ने टिप्पणी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले हिमाल, पहाड र मधेसलाई मिलाउन नसक्ने नेता राष्ट्रवादी हुनै नसक्ने बताए । सरकारले जनताका पक्षमा काम गर्न नसकेको उनले दाबी गरे ।

कांग्रेसलाई बेवास्ता गरे प्रतिवाद
कांग्रेसलाई बेवास्ता गर्दै अघि बढे प्रजातान्त्रिक मूल्य मान्यताअनुसार कम्युनिस्टविरुद्ध लडाइँ लड्ने चेतावनी सभापति देउवाले दिए । ‘पछिल्लो एक दशकको तीन चौथाइ समय सरकारमा बसेका कम्युनिस्ट नै मुलुकको बेथितिमा मुख्य जिम्मेवार हुन्,’ उनले भने । देउवाले दुई कम्युनिस्ट पार्टी मिलेको र पार्टीभित्र अनुशासनहीन र अन्तर्घातका कारण चुनावमा कांग्रेसले पराजय व्यहोरेको दाबी गरे । ‘एमाले र माओवादी केन्द्र मिलेकाले कांग्रेस निर्वाचनमा हार्नु स्वाभाविक हो,’ उनले भने । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्