काठामाडौं ४ वैशाख : देउवाले कांग्रेसमा ‘छाडातन्त्र’ हाबी भएको बताए । ‘कांग्रेसमा खुलेआम गुटबन्दी भएका कारण चुनावमा पराजय भोग्नुपरेको हो । जबसम्म अन्तर्घात गर्नेलाई कारबाही हुँदैन, पार्टी कसरी अघि बढ्छ,’ उनले भने । अन्तर्घात नभएको भए कांग्रेसले २० सिट बढी जित्न सक्ने दाबी उनको थियो ।
टिकट नपाउनेले अन्तर्घात गर्दा पार्टीमा असर परेको उनले बताए । कांग्रेसमा अनुशासन आवश्यक भएको भन्दै देउवाले अन्तर्घातीलाई कारबाही गर्दै छाडातन्त्र अन्त्य गरेर पार्टीलाई फेरि ठूलो बनाउने उद्घोष गरे ।
कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले तरुणको भूमिका कांग्रेसमा अझ सशक्त भएको बताए । सरकारमा नभएको समयमा अब संगठन निर्माणमा ध्यान दिन उनले आग्रह गरे । अर्का केन्द्रीय सदस्य डा. रामशरण महतले कांग्रेसले चुनाव हारे पनि जनमत भने अझै आफूहरूको पक्षमा रहेको दाबी गरे ।
तरुण दल केन्द्रीय अध्यक्ष जितजँग बस्नेतले संगठनलाई सशक्त बनाएर अघि बढ्ने बताए । दुई दिन चल्ने प्रशिक्षणमा प्रदेश ३ का १५० प्रतिनिधिको सहभागिता रहेको सहआयोजक तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।