गोरखा, ५ वैशाख
तीन वर्षदेखि उत्पादन बन्द भएको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने तयारी भएको छ । उद्योग सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले कमिटी गठन गरेको छ । प्रदेश ४ कै ठूलो उद्योग सञ्चालनमा आएमा आर्थिक समृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा छ ।
उद्योगमा आबद्ध कर्मचारीलाई अवकाश दिन लाग्ने खर्च र उद्योग सञ्चालनका लागि विकल्पसहितको प्रतिवेदन पेस गर्न उद्योग मन्त्रालयले कमिटी गठन गरेको उद्योगका कामु महाप्रबन्धक दिनेशकुमार बर्तौलाले बताए । उनले भने, ‘उद्योगमन्त्री मातृका यादवसँग भएको छलफलमा बन्द रहेको रबर उद्योगलाई सञ्चालन गर्न पहल गर्ने आश्वासन पाएका छौँ ।’ बन्द रहेको उद्योग सञ्चालनका विषयमा छिटो धारणा आउने उनले बताए । सरकार अस्थिर भएका कारण उद्योग सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ । ०४२ बाट स्थापना भएको सो उद्योग ०७१ मा बन्द भएको थियो । सो उद्योग ६ सय ७२ रोपनीमा स्थापना गरिएको छ ।
नगरपालिकाको पहल
गोरखा नगरपालिकाले समेत उद्योग सञ्चालनका लागि पहल गरिरहेको छ । नगरपालिकाका मेयर राजनराज पन्तले बन्द उद्योग सञ्चालनका लागि सरकारसँग समन्वय गरिरहेको बताए । ‘प्रदेश ४ को मात्र नभई देशकै ठूलो उद्योग बन्द हुनु अत्यन्त दुःखको कुरा हो, यसलाई तुरुन्तै सञ्चालनमा ल्याउन देउवा सरकारको पालादेखि नै पहल गरेका थियौँ,’ मेयर पन्तले भने, ‘तर, त्यतिखेर मन्त्रालयले ठोस निर्णय नगर्दा अहिलेसम्म उद्योग बन्द छ, अब कसरी हुन्छ उद्योग सञ्चालनमा ल्याउन सरकारसँग समन्वय गरिरहेका छौँ ।’
नियमित हाजिर गर्दैै कर्मचारी
उद्योग बन्द भए पनि कर्मचारीले भने नियमित रूपमा हाजिर गरिरहेका छन् । उद्योग सञ्चालन नहँुदा रोजीरोटी गुम्नुका साथै परिवार र छोराछोरीको भविष्य नै प्रभावित भएको कर्मचारीको गुनासो छ । उद्योगका प्राविधिक अधिकृत नैनसिंह लिम्बूले उद्योग सञ्चालनमा नआए पनि कर्मचारीले नियमित हाजिर गरिरहेको बताए । ‘उद्योगमा आबद्ध सबै कर्मचारीले हाजिर नियमित गर्छन्,’ उनले भने, ‘उद्योग बन्द भए पनि उनीहरूले पारिश्रमिक पाउने आसमा हाजिर गर्दै बसेका छन्, तर उद्योग सञ्चालनमा अझै अन्योल छ ।’ निरन्तर उत्पादन भए पनि ०७१ मा आर्थिक मन्दीका कारण उद्योगबाट उत्पादन बन्द भएको थियो ।
चीनले रबर उद्योगसँग तीन किस्तामा रकम उपलब्ध गराउने सम्झौता गरेको थियो । सुरुमा चालू पुँजी, त्यसपछि उद्योगको भवन बनेपछि र अन्तिम किस्ता हस्तान्तरण गरेपछि दिने सम्झौता भएको लिम्बूले बताए ।
बन्द भएको उद्योगका दुई सय ४१ कर्मचारीले २५ महिनादेखि तलब पाएका छैनन् । उद्योगलाई घाटा भएमा कर्मचारीलाई सेवा–सुविधासहित बिदा गर्नुपर्ने कर्मचारीको भनाइ छ । केही कर्मचारी उद्योगको क्वार्टरमा समेत बस्दै आएका छन् । तलब नपाउँदा छोराछोरीलाई पढाउन पैसा नभएको र घरको जग्गाजमिनसमेत बेचेर ल्याएको उद्योगका स्टोर असिस्टेन्ट सत्यन साहले बताए । स्थानीय कर्मचारी घरबाट आएर हाजिर गरेर जाने गरेका छन् भने टाढा भएका बजारमा नै कोठा लिएर बसिरहेका छन् । सेवासुविधा पाउने आसमा कर्मचारी उद्योग धाइरहेका छन् । अहिले १६ परिवार मात्र क्वार्टरमा बसेका छन् ।
स्वैच्छिक अवकाश
स्वैच्छिक अवकाशका लागि लिखित निवेदन दिएका उद्योगका कर्मचारीको उद्योग प्रशासनले स्वीकृत गरेर नेपाल सरकारलाई पठाएको उद्योगका कामु महाप्रबन्धक दिनेशकुमार बर्तौलाले बताए । उनका अनुसार नेपाल सरकारले अवकाश दिँदा के–कति खर्च लाग्छ, हिसाबकिताब पठाउन निर्देशन दिएको छ भने उद्योग सञ्चालन गर्न विकल्प खोजिरहेको छ ।
१० करोडको कच्चापदार्थ भण्डारमै
उद्योगमा करिब १० करोडको कच्चापदार्थ भण्डारमै रहेको छ । उद्योग सञ्चालनमा आए केही दिनका लागि भण्डारमै रहेको कच्चापदार्थले पुग्नेछ ।
२८ करोड लगानी
गोरखकाली रबर उद्योगमा सरकारको ३८ प्रतिशत लगानी छ । त्यस्तै २१ प्रतिशत समुदाय र बाँकी साल्ट टे«डिङलगायतका संस्थान र बैंकहरूको लगानी छ । उद्योगमा सरकार, समुदाय, संस्थान र बैंकहरू गरी २८ करोड लगानी रहेको कामु महाप्रबन्धक दिनेशकुमार बर्तौलाले बताए ।
उद्योगका सामान बिग्रिदै
उद्योग सञ्चालनमा नरहेपछि बिग्रिने र हराउने समस्या हुन थालेको छ । उद्योगमा जडान गरिएको सिसिक्यामेरा बिग्रँदा सामग्रीहरू असुरक्षित भएका हुन् । सामग्रीहरूसमेत बिग्रिन थालेको कर्मचारीले बताए । लामो समयसम्म उद्योगका सामग्री प्रयोगमा नल्याउँदा खिया लाग्ने, बिग्रने र जाम हुन लागेका छन् । – नयाँ पत्रिका