राजपा संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्थामा सुधार



काठमाडाैँ ५ वैशाख

राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्थामा सुधार आएपछि आइसियूबाट नर्मल बेडमा सारिएको छ । नियमित चेकअपका लागि गत २७ चैतमा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पताल पुगेका ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि थप उपचारका लागि आइसियूमा भर्ना गरिएको थियो ।

ठाकुरको शरीरमा रगत प्रवाहमा समस्या देखिएपछि एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएको पाइएपछि अप्रेसन गरी तीनवटा स्टेन राखिएको अस्पतालले जनाएको छ ।

उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएकाले मंगलबार आइसियूबाट नर्मल बेडमा सारिएको राजपा महामन्त्री चन्दा चौधरीले जानकारी दिइन् । ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि आइसियूबाट नर्मल बेडमा सारिएको छ,’ चौधरीले भनिन् ।

ठाकुरको मुटुमा समस्या देखिएपछि केही वर्ष अगाडि ‘पेसमेकर’ राखिएको थियो । त्यसपछि उनी फलोअपका लागि ६–६ महिनामा मेदान्त अस्पताल जाने गरेका छन् ।

नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्