गोप्य रुपमा अमेरिका र उत्तर कोरियाबीच प्रत्यक्ष कुराकानी भइरहेको ट्रम्पको खुलासा



काठमाडौं, ५ वैशाख

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको उत्तर कोरियासँग प्रत्यक्ष वार्ता भइरहको बताएका छन् । तर, राष्ट्रपति ट्रप्पले अमेरिकाको तर्फबाट कसले किम जोङ्ग उनसँग वार्ता गरेको भन्ने चाहीँ खुलाएका छैनन् ।

पहिले राष्ट्रपति ट्रम्प र किम जोङ्ग उनबीच नै सिधा कुराकानी भइरहेको यो खबर आएको थियो ।

तर ‘वाशिन्टन पोस्ट’को समाचार अनुसार सीआईएका निर्देशक माइक पोम्पियोले इस्टरमा उत्तर कोरियाको गोप्य भ्रमण गरेका थिए ।

रिपोर्ट अनुसार यो भ्रमणको दौरान माइक पोम्पियो र किम जोङ्ग उनबीच भेट भएको थियो ।

ट्रम्पले अमेरिकी अधिकारीहरु र उत्तर कोरियाली अधिकारीहरुबीच कुराकानी भइरहेको बताए । यी कुराकानीहरु छिट्टै हुन लागेको दुवै देशका नेताहरु बीच हुन लागेको प्रत्यक्ष भेटघाट ऐतिहासिक बनाउनेमा केन्द्रीत रहेको बताइएको छ ।

उनले भने “हामीले निक्कै उच्च स्तरमा सिधा कुरा गरेका छौँ ।”

उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग भेटघाट गर्न पाँच स्थानबारेमा विचार भइरहेको पनि राष्ट्रपति ट्रम्पले भने ।

जापानको सुरक्षा चिन्ता
राष्ट्रपति ट्रम्पले यो सबै कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेको उपस्थितिमा भनेको हुन् । ट्रम्पले जापानी प्रधानमन्त्रीलाई फ्लोरिडामा भेटेका थिए ।

ट्रम्पको भेट र कुराकानी पछि जापानी प्रधानमन्त्री सिन्जो आबेले ट्रम्पको साहसको प्रशंसा गरे । साथै उनले अमेरिका र उत्तर कोरियाबीचको वार्ताले ठोस परिणाम निक्लने आशा पनि व्यक्त गरे ।

उनले भने, “यो वार्ताको दौरान कोरियाली प्रायद्विपमा जापानको सुरक्षा चिन्ताको पनि ख्याल राखिनेछ भन्ने हामी आशा गर्छौँ ।”

जापानले उत्तर कोरिया र राष्ट्रपति ट्रम्पबीचको वार्तामा आफूलाई पन्छाइने हो कि भन्ने आशंका गरिरहेको थियो ।

जापान, अमेरिकाको मुख्य सहयोगी र उत्तर कोरियाको छिमेकी राष्ट्र हो । सन् १९४५ मा स्वतन्त्र हुनु अघि दुबै कोरिया जापानको उपनिवेश थिए । त्यो समयमा जापानले आफ्नो शासित क्षेत्रमा निक्कै दुर्व्यवहार गरेको थियो । यसैले हालसम्म पनि कोरियामा जापान प्रति नकारात्मक धारणा कायम छ ।

पछिल्लो महिना उत्तर कोरियाबाट सिधा वार्ताको निमन्त्रणालाई स्वीकार गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय समुदायलाई चकित पारेका थिए ।

राष्ट्रपति ट्रम्पका अनुसार उत्तर कोरियाको नेता किम जोङ्ग उनसँग जुन वा त्यो भन्दा केही पहिलेनै भेटघाट हुनसक्छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्