झापा, ५ बैशाख
झापाका सामाजिक व्यक्तित्व महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको छ । वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले गिरीलाई मंगलबार सामुहिक रुपमा उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका हुन् ।
आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरणमा टेवा पुर्याएको भन्दै बिर्तामोड–२ चारपाने निवासी ४८ वर्षीय गिरीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको हो । वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाईमा भएको सम्मानमा गिरीलाई स्वर्ण पदक, नगद तथा सम्मानपत्र प्रदान गरियो ।
सहकारी तथा सामाजिक अभियन्ताका रुपमा परिचित गिरीले सहारा नेपाल तथा सहारा नेपाल साकोसमार्फत् पछाडि परेको वर्गको उत्थान र सशक्तीकरणका साथै आर्थिक समृद्धिमा अगुवाई गरेको भन्दै झापाका सामाजिक संस्थाले सम्मान प्रदान गरे ।
गिरी सहारासहित झापा गोल्डकपको संस्थागत विकास, समर्पण राष्ट्रिय अभियान लगायतका राष्ट्रिय महत्वका कार्यको परिकल्पनाकार हुन् । सहारामा अहिले एक लाख ३० हजार सदस्य संगठित छन् भने करीब सात अर्वको आर्थिक कारोबार गर्न सफल भएको छ । सहारा अहिले देशकै ठूलो र उत्कृष्ट संस्थाको रुपमा गनिएको छ ।
प्रमुख अतिथि राजनीतिज्ञ रवीन्द्र मिश्र तथा वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेतले गिरीलाई सम्मानपत्र हस्तान्तरण गरे । उत्कृष्ट नागरिक सम्मान समारोह २०७४ का संयोजक प्रमेश हलुवाई (राजकर्णिकार)ले स्वर्णपदक र माला तथा वीरता जेसीजका अध्यक्ष एकराज गिरीले नेपाली ढाका टोपी उत्कृष्ट नागरिक गिरीलाई पहि¥याएका थिए ।
छनौट समितिको तर्फबाट सदस्य रहेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले २०७४ को उत्कृष्ट नागरिकको रुपमा गिरीको नाम घोषणा गरेका थिए ।
कार्यक्रमलगत्तै स्कर्टिङसहित उत्कृष्ट नागरिक गिरी, प्रथम महिला ज्योति गिरी र उनका छोरी कृतिमा गिरीलाई नगर परिक्रमासहित चारपानेस्थित निवास पु¥याइएको थियो । वीरता जेसीजका पूर्वअध्यक्षहरुले ०५२ सालबाट हरेक वर्ष एक विधामा जिल्लाका एक उत्कृष्ट व्यक्तिको छनौट गरी उत्कृष्ट नागरिक सम्मान प्रदान गर्दै आएको पूर्वअध्यक्ष राजकुमार पोखरेलले बताए । – नयाँ पत्रिका