लियोनल मेस्सीलाई बेन्चमा राखेपछि बार्सिलोना बराबरीमा रोकियो



भिगो, ५ वैशाख

सेल्टा भिगोको घरेलु मैदानमा अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएपछि बार्सिलोना २-२ को बराबरीमा रोकिएको छ। १० खेलाडीमा सिमित बार्सिलोना पछिल्लो ४० खेलमा अपराजित छ।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्देले लियोनल मेस्सी र लुइस स्वारेजलाई बेन्चमा राखेका थिए भने, आन्द्रेस इनियेस्टा, इभान राकिटिक, सर्जियो बुस्केट र जेरार्ड पिकेलाई विश्राम दिएका थिए। शनिबार सेभिल्लासँगको कोपा डेल रे’ फाइनलका लागि भाल्भार्देले अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएका हुन्।

बार्सिलोनालाई ३६ औं मिनेटमा औसमाने डेम्बेलेले अग्रता दिलाए पनि पहिलो हाफको अन्तिम मिनेटमा घरेलु टोलीका जोनाथन क्यास्ट्रो ओट्टो (जोनी) ले बराबरी गोल गरेका थिए।

दोस्रो हाफमा फ्रान्सिस्को अल्कासरले ६४ औं मिनेटमा बार्सिलोनालाई पुनः अग्रता दिलाए। खेलको ७१ औं मिनेटमा सेल्टाका स्ट्राइकर आइगो आसपासलाई फाउल गरेपछि बार्सिलोनाका फुल ब्याक सर्जी रोबर्टो सोझै रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए। १० खेलाडीमा सिमित बार्सिलोनाविरुद्ध उनै आसपासले ८२ औं मिनेटमा बराबरी गोल गरे।

खेलको ६० औं मिनेटमा फिलिप कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका मेस्सीले सेल्टाको घरेलु मैदानमा फेरी गोल गर्न सकेनन्। सन् २०१३ यता मेस्सीले सेल्टाको घरेलु मैदान इस्टाडियो बालाइडोसमा गोल गर्न सकेका छैनन्।

शिर्षस्थानमा बार्सिलोनाको ३३ खेलमा ८३ अंक छ भने सेल्टा ४४ अंक सहित ८ औं स्थानमा छ। -(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्