काठमाडौँ, ५ वैशाख २०७५
पूर्वीय दर्शनबाट पश्चिमाले निकै सिके रे ! वेदमा जातीय, लैंगिक र जन्मका आधारमा गरिने ब्राम्हणवादको परिभाषा नि छैन रे ! यो त सबै बाठाहरुले वेदको अपव्याख्या गरी आफू अनुकुलको नियम बनाएको रे ! पश्चिमाहरू डलर तिरेर बौद्ध दर्शन सिक्न आउँछन्, हाम्रा चाहिँ डलरको लागि आफ्नो धर्म/संस्कृति नै त्याग्छन रे ।
किन र के को कुरा गरेको त ? वेद संस्कृतमा छ, वैदिक भाषा संस्कृतलाई लोप गराएर पश्चिमाहरुले आफ्नो भाषा लादे रे । हिजो सत्य जस्ता लाग्ने पण्डितहरुले त ठगेर वेदको अपब्याख्या गरेभने आजका पण्डितले नेपालीमा उल्था गरेको वेदको बारेमा कसरी विश्वास गर्ने त, संस्कृति प्रेमीहरुको प्रश्न छ ?
वेदको ज्ञान बुझेर पश्चिमाहरू चन्द्रमामा होटल खोल्न थालिसके । हामी भने वेद र गीताको अर्थ नबुझेर अपव्याख्यालाई सत्य ठान्दै, विभेद र हिंसाको भावना पालेर बसेका छौँ ।
आजका युवा पुस्ता धेरै जान्दैनन् तर जान्नेहरु जम्मा गर्न त सक्छन नि ? हाम्रा बाउबाजेले केहि हजार वर्ष नजानेर बिताए । एउटा धर्म भित्र हजारौं सम्प्रदाय जन्माएर आफैलाई भगवान बनाउन थाले । हाम्रो दर्शनका खास कुराहरु नजान्दै मर्ने पुस्ताको विकास हुन दिनुहुन्न अब ।
हामी शिक्षा र प्रविधिको युगमा छौं । सत्संग गरौ, वैदिक बहस गरौँ, छलफल गरौँ र एउटा साझा निष्कर्ष पुगौं । सत्य भेट्न नसके पनि सत्यको नजिक पुगौं । हाम्रा संस्कृतिका राम्रा पक्षहरुलाई ग्रहण गरौँ । बदल्नु पर्ने परम्पराहरु बदलौं । कर्मकाण्ड नै धर्म हो भनेर व्याख्या गर्ने र गराउनेहरुलाई पनि धर्म र कर्म फरक हो भन्ने चेतना भरौ ।
हिन्दुका वा वैदिक धर्मका खास देवता को हुन् ? किन हाम्रा देवता धेरै भए भन्ने नि बुझौ । बौद्ध र वैदिक धर्मको अर्थ बुझौ । यी सबै प्रश्नको जवाफ खोज्ने युवाहरुको असंगठित समुहद्वारा आयोजना हुने छलफल कार्यक्रमको परिवर्तन खबरले फेसबुक लाईभ गर्दैछ । आगामी शनिवार दिनको ठिक २ बजे देखि ४ बजे सम्म, सुनौं, भनौँ र बुझौ ।
सिमित विद्वानले १ घण्टा बोल्ने प्रश्नोत्तरको कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । गर्मीको समय भएकोले नि:शुल्क शुद्ध पानीको व्यवस्था भएको कार्यक्रममा खाजाको व्यवस्था भने आफैले गर्नुपर्ने आयोजकले बताएको छ ।