हाम्रो दर्शन र सभ्यता रह्यो भने हामी रहन्छौ । हाम्रो सभ्यता सकियो भने संसारभरी अधार्मिक मान्छेको विकास भएर हिंसा, अशान्ति र द्वन्द भैरहन्छ
काठमाडौं, ६ बैशाख २०७४
पूर्वीय धर्म, संस्कृतिको बारेमा जान्ने ईच्छाले परिवर्तन खबरको टिम नेपाल बौद्ध महायान केन्द्र गुम्बा (कपन गुम्बा) पुग्यौ । अति नै सुन्दर, शान्त र प्रकृतिमैत्री गुम्बामा हामीले विहानको ३ घण्टा बितायौं । काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ मा अवस्थित गुम्बा पुग्दा, जो कसैलाई फरक संसारमा पुगेको आभास हुन्छ । २०२६ सालमा भुसको छानोबाट शुरु भएको गुम्बामा अहिले कयौं आधुनिक भवनहरु छन् ।
केहि चेलाहरु लिएर एकजना भिक्षुले शुरु गरेको गुम्बा अहिले १६ जिल्लामा गुरुकुल शिक्षा संचालन गर्न सफल भएको छ । गुम्बा भित्रै आधारभूत तहदेखि पी.एच.डी. सम्म पढाई हुन्छ । जहाँबाट अहिलेसम्म ९० भिक्षुले पी.एच.डी. गरिसकेका छन् ।
सरकारीस्तरबाट आर्थिक सहयोग नपाई आफ्नै श्रोतमा संचालन भएको गुम्बामा अहिले औपचारिक शिक्षा तर्फ वार्षिक ५० जना नेपाली र आधारभूत बौद्ध शिक्षा तर्फ २००० विदेशी शिक्षार्थीहरुले ज्ञान प्राप्त गरिरहेका छन् । ३५ जना नेपाली भिक्षुहरुको ब्यबस्थापनमा संचालन भैरहेको गुम्बाले २०२८ सालदेखि विदेशीहरुलाई पनि शिक्षार्थ स्वागत गरिरहेको छ ।
प्राकृतिक सुन्दरता, स्वच्छ, शान्त र समृद्ध गुम्बा भित्र बस्ने राता कपडाधारीसँग कुराकानी गर्ने ईच्छाले फोन सम्पर्कपछि गुम्बा भित्र हामी पुग्यौं । पूर्वजानकारी अनुसार हामीसँग कुरा गर्न नेपाल बौद्ध महासंघका पूर्व अध्यक्ष फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल) प्रतिक्षारत थिए । अभिवादन साटासाट पछि आफैमा हँसिलो अनुहार भएका भिक्षु थुप्तेन, बौद्ध अध्ययन, ज्ञान र अनुशरणले वातावरण भन्दा पनि सुन्दर देखिन्थे । कपन गुम्बामै बस्ने तिनै बुद्धदूत भिक्षु थुप्तेन सँग परिवर्तनकर्मी ध्रुवप्रसाद घिमिरेले गरेको कुराकानीको सारसंक्षेप:
बाल्यकाल
ताप्लेजुङ जिल्लाको मिलुमा बुवा पासाङ दावा शेर्पा र आमा लाकी शेर्पाको दशौँ सन्तानको रुपमा जन्मिएका थुप्तेन जिग्डोल नौं दिदीहरु र एक दाजुका कान्छा भाइ हुन् । कान्छो छोरो भएकाले सबैको मायाँमा हुर्किएका उनले आम बालबालिकाहरु भन्दा धेरै माया पाए ।
बौद्धधर्म सिक्न क्याम्पस छोडी : गोठालो जीवन
मलाई सानै छँदा, त्यस्तै चार, पाँच वर्षको उमेरदेखि नै बौद्ध धर्मको पूजा विधि र अन्य धार्मिक कुरामा अति रुची लाग्थ्यो । यतिसम्म कि, गाउँघरमा उसिनेर खाजाको रुपमा दिने आलु मकै पनि भगवानलाई नचढाई र प्रार्थना नगरी खान्नथें । उनी हाँस्दै भन्छन्, “मन्त्र केहि आउदैनथ्यो तैपनि त्यतिकै ओठ हल्लाएर मन्त्र भने झैँ गरी प्रार्थना गरेर मात्र खान्थे।” हामी, बौद्ध र वैदिक धर्मका अनुयायीहरु पूर्वजन्म र कर्ममा विश्वास गर्छौ । अहिले लाग्छ, ” त्यो सवै मेरो पूर्वजन्मको संस्कारले नै होला । ”
गाउँको सरकारी विद्यालयमा अध्ययन गर्दागर्दै १४ वर्षको उमेरमा एस.एल.सी. पास गरें । मेरो ईच्छा सानैदेखि भिक्षु बन्ने थियो । एस.एल.सी. पास गरेपछि गुम्बा जान्छु भन्दा बुवाआमाले क्याम्पस नजाने भए गोठालो जा भन्नुभयो । बुवाआमाको आदेशको पालना गर्दै म क्याम्पस नगएर ६ महिना गोठालो पनि गएँ । त्यतिखेर परिवार र वंश धान्न छोरै हुनुपर्छ भन्ने मान्यता थियो । नौ छोरीहरु पछि जन्मिएको छोरो भिक्षु भएपछि घर फर्किदैन भन्ने डर बुवाआमालाई थियो ।
म दृढ थिएँ । मेरो दृढता र बालहठले बुवाआमा गल्नुभयो । ६ महिने गोठालो जीवनपछि गुम्बा जाने अनुमति पाईयो । त्यतिखेर अहिले जस्तो फोनको चलन थिएन । कपन गुम्बामा काकाको छोरा पढ्ने जानकारी थियो । गाउँबाट गुम्बामा बसेको दाजुलाई चिठ्ठी पठाए, जवाफको प्रतिक्षा गर्दागर्दै आठ महिना बित्यो । लामो समयपछिको जवाफले मेरो ईच्छा र चाहानालाई सहयोग पुर्यायो । मैले गुम्बामा प्रवेश पाएँ ।
भिक्षु हुने बौद्ध बाटो :
भिक्षु हुन साधारणतया प्रवज्या लिनुपर्छ । सबैभन्दा पहिले पंचशीलकै प्रवज्या लिनुपर्छ । प्रवज्या लिएर त्रिरत्नको शरणमा जानुपर्छ । गुरुले टुप्पी काटेपछि तीनचोटी सोध्नुहुन्छ, तिमी भिक्षु बन्न खुशी छौँ ? छु भन्ने जवाफ पछि बौद्ध धर्ममा त्रियानको शरणमा जान पंचशीलको शील दिईन्छ । आचरण र अध्ययन राम्रो हुँदै गएपछि २ वर्ष जतिमा पुरुषलाई ऋमण र महिलालाई ऋामेणीकाको दर्जा दिईन्छ । यसमा ३५ ओटा शील हुन्छन्, त्यसलाई ग्रहण गर्दै २५३ शील पूरा गरेपछि पुरुषलाई भिक्षु र महिलालाई भिक्षुणीको शील दिईन्छ । भिक्षु हुन चाहनेले गृहस्ती जीवन त्याग्नुपर्छ ।
बौद्ध धर्ममा विशेषगरी आगम र अधिगमको अध्ययन र अभ्यास हुन्छ । आगममा त्रिपिटक पर्दछ भने आधिगममा त्रिशील पर्दछ । त्रिपिटक भन्नाले विनय पिटक, अभिधर्म पिटक र शुत्र पिटक हो भने त्रिशील भन्नाले शील, समाधि र प्रज्ञा हो । अधिगममा बौद्ध धर्मको आधारभूत देखि पी.एच.डी. सम्मको पढाई हुन्छ । यसमा बौद्ध र आधुनिक दुवै शिक्षाको अध्ययन गर्नुपर्छ । बौद्ध गोन्पाहरूमा विशेष गरी पाँच महादर्शन विनय पिटक, अभिधर्म पिटक, शुत्र पिटक, प्रमाणवार्तिका र प्रज्ञा पारामित साथै त्रिशीलको अध्ययन र अभ्यास हुनु पर्दछ । म चाहिँ दुवै अध्ययन र धारणा गरेर आएको हुँ ।
भिक्षु थुप्तेन हाँस्दै भन्छन्, ” पश्चिमाहरू ज्ञान गुणका कुराहरु सिक्न पैसा तिरेर बौद्ध र बैदिकमा आए । हाम्रा चाहीं ज्ञानगुण छोडेर डलर लिन उत्ता कुदे ।”
बौद्ध/हिन्दू धर्मका समानता
हिन्दुधर्म पहिला हिन्दुधर्म होईन । यो सिन्धु धर्म हो । पहिला उच्चारण गर्न नजानेर सिन्धुलाई हिन्दु भनिएको हो । म हिन्दू धर्म भन्न चाहन्न, यो वैदिक धर्म हो । वैदिक र बौद्ध धर्ममा धेरै समानता छ । दुवै धर्ममा पूर्वजन्म र पूनर्जन्मको विश्वास गरिन्छ ।
वैदिक धर्मले 0+0=0, भन्छ भने बौद्ध धर्मले 0-0=0, भन्छ । वैदिक धर्ममा सबैभन्दा बढी पूर्वजन्म र पुनर्जन्मको कुरा हुन्छ । बौद्ध धर्मले त झन् बढी पूर्वजन्म र पुनर्जन्मको कुरा मान्छ । अहिले हामीले जति जे गर्छौँ, पुनर्जन्मको लागि नै गर्छौ ।
दर्शनमा अलि फरक छ । आत्मवाद र अनात्मवाद । बौद्धले अनात्मवादको कुरा गर्छ, बैदिकले आत्मवादको कुरा गर्छ । मुलरुपमा कर्म, पूजा पद्धति समान छन् ।
वैदिक धर्मले संसारको सबै सुखभोग त्यागेर अन्त्यमा रस नभएको बुझ्नुपर्छ भन्छ तर बौद्धले चाही शुरुमै त्याग्नु पर्छ भन्छ । शुरु देखि शुन्य हो भन्ने मान्छ । अन्तत् शुन्यताकै कुरा आउछ ।
यता बौद्धले निर्वादको कुरा गर्छ । उत्ता वैदिकले मोक्षको कुरा गर्छ । मानिसको जीवन चक्र देवलोक, त्रेतालोक, पशुलोक, असुरलोक, नर्कलोक र मनुष्यलोकमा घुमिरहेका छौँ । सबैभन्दा राम्रो मनुष्यलोक हो, यहि लोकबाट मात्रै मोक्ष सम्भव छ, भन्ने बौद्धको बुझाई हो । अनगिन्ति जन्महरू हामीले लिइसक्यौं र अझ पनि अनगिन्ति जन्महरू लिनुपर्छ भन्ने मान्यता बौद्धमा छ । उता वैदिकमा पनि चौरासी हजार योनीमा हुने जीवन चक्रको विश्वास गर्छ ।
वैदिक र बौद्धमा देखिएको खास फरक भनेको उत्पतिको विषयमा हो । वैदिकहरु संसारको उत्पति भगवानले गरेको भन्छन् । बौद्धहरु यो संसार प्रतित्यसमुत्वादको बाटोबाट उत्पति भएको मान्छन । एकले अर्कोमा निर्भर भएर यसको उत्पति भएको हो; भन्ने मान्छन् । जुन आजको आधुनिक विज्ञान सम्मत पनि देखिन्छ । बौद्धको पनि आफ्नै विज्ञान छ । बौद्धमा बौद्ध धर्म, बौद्ध दर्शन, बौद्ध विज्ञान, बौद्ध संस्कृति छ । तर आज धेरै मान्छेले बौद्ध संस्कृतिलाई बौद्ध धर्म मान्न थाले । यहि चेतना बैदिकमा पनि छ । वेद, उपनिषद्लाई नपढेर कर्मकाण्डी संस्कृतिलाई नै हिन्दू धर्म मान्न थाले ।
पूर्वीयहरुमा धार्मिक ज्ञानको आवश्यकता
वैदिक र बौद्ध धर्मका धेरै राम्रा पक्षहरु छन् । यति हुँदाहुँदै पनि आज हाम्रो धर्म/ संस्कृतिमा पश्चिमा धर्म/संस्कृतिको प्रभाव बढ्दै गएको छ । वैदिक र बौद्ध धर्मका अभियन्ता तथा अनुयायीहरुको अल्पज्ञान यसको मुख्य कारण हो । धर्मको नाममा संस्कृतिको पाटोलाई मात्र फैलाएर, संस्कृति नै धर्म हो भन्ने भ्रम पारिएको छ । अझ कर्मकाण्ड नै धर्म हो भन्ने आम बुझाई विकास गरिएको छ । यहि अल्पज्ञानको कारण, परिणाम, प्रयोग र व्यवहारले आजको समाज गलत बाटोतर्फ गईरहेको छ ।
आधुनिक शिक्षाले विवेकको मात्र विकास गर्यो, हृदयको विकास गरेन ।
जातीयतामा पूर्वीय धर्मदर्शन
अल्पज्ञानीहरुले प्रभावित गरेको हाम्रो समाज जातीयताको नाममा हामीलाई विभाजित गर्न खोजिएको छ । हाम्रो धर्म र संस्कृतिले कुनै क्षत्री, बाहुन, जनजाति मानेको छैन । बौद्धको बुझाईमा मानव दुई किसिमको हुन्छ, महिला र पुरुष । म जातीयताको कुरै जान्दिन र मान्दिन पनि ।
सबैको चाहाना सुख र मोक्ष प्राप्ति नै हो । कसैले जागिर खाला कोहि सन्यासी बन्ला । कोहि विज्ञान पढ्ला, डाक्टर बन्ला, कोहि खेतीकिसानी गर्ला, कोहि फटाहा, चोर बन्ला । त्यो सबै सुख प्राप्तिकै लागि हो । कस्ले कस्तो सुख पायो ? त्यो चाहिँ आफैले बुझ्ने कुरा हो ।
बौद्ध् धर्मका पाँच वटा ठूला ग्रन्थहरु सबै पढेलेखेका ब्राम्हणहरुले लेखेर उनीहरुले नै लिपिबद्ध गरेका हुन् । नाकाजोनु, बसुबन्दु, आर्यदेव, शान्तिदेव, गुरुपद्मसम्पप, गुरु रिम्पोछे जति गुरुहरु छन्, सबै थरले ब्राम्हणहरु हुन् । गुरुपद्मसम्पप नालान्दा विश्वविद्यालय पढेका काश्मिरी ब्राम्हण गुरु हुन्, जसले तिब्बतमा गएर बौद्ध धर्म फैलाए । त्यसभन्दा अघि तिब्बतमा बौद्ध धर्म थिएन । अहिले आम मान्छेहरु बौद्ध धर्म तिब्बतबाट आएको भन्ने बुझ्छन । त्यो पुरा गलत हो । हाम्रो धर्म छैटौं शताब्दीतिर नेपालबाट तिब्बतमा फैलिएर फेरी हाम्रोमा आएको हो । यो कुरा आम मान्छेले बुझ्दैनन् ।
सबैले धर्म/संस्कृतिबारे बुझ्नुपर्ने
अहिले हाम्रोमा पढाई भैरहेको आधुनिक भनिएको शिक्षा । यसको ईतिहास हेर्नु भो भने जम्मा दुई, तीन सय वर्षको छ । यसैलाई आधार मानेर हामीले पाठ्यक्रम र पाठ्यपुस्तक बनायौं ।
पूर्वीय दर्शन र सभ्यतामा आधारित वैदिक र बौद्ध शिक्षाको ईतिहास हेर्यौं भने हजारौं वर्षको छ । हाम्रो दर्शन शिक्षा र सभ्यतालाई मासेर आधुनिकताको नाममा पश्चिमा शिक्षा र संस्कृतिलाई पढायौं । मानव सभ्यतामा आधारित शिक्षालाई आधुनिकताको नाममा समाप्त पार्यौ ।
जुन शिक्षाले संसारलाई उज्यालो पार्न सक्छ, प्रकाश छर्न सक्छ, प्रेम र सद्भाव भर्न सक्छ । त्यस्तो शिक्षालाई रुढीवादी, परम्परागत र काम नलाग्ने बनायौं । जुन शिक्षाले मान्छेलाई अन्धकार तिर लैजान्छ । अहंकारी, स्वार्थी र फटाहाहरु उत्पादन गर्छ । त्यहि शिक्षालाई आधुनिकताको नाममा हामीले अनुशरण गर्यौ । अनि कसरी हामी सहि बाटोमा हुन्छौं । आधुनिक शिक्षा ब्रिटिशले चर्चमा लागु गरेको शिक्षा पद्धति हो ।
सहिमार्ग र परिवर्तनको लागि आफ्नै शिक्षालाई लागु गर्नुपर्छ । विद्यालय स्तरदेखि विश्वविद्यालय सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आमूल परिवर्तन गर्नुपर्छ । हाम्रो वैदिक र बौद्धमा आधारित पूर्वीय शिक्षा र आधुनिक शिक्षाको राम्रा विषयहरु समायोजन गरेर सानैदेखि विधार्थीलाई सहि शिक्षा दिनु पर्छ । हाम्रो शिक्षाले मान्छेको भित्री मनमा प्रभाव पार्छ, जसले प्रज्ञा र चेतनाको विकास गर्छ ।
अहिले धेरैले बौद्ध र बैदिक धर्मको बारेमा पढेका छैनन् । बुद्ध नेपालमा जन्मिएका भनेर गर्व गरेरै बसे । ज-जसले पढेका छन्, उनीहरुमा पनि अभ्यास छैन । बौद्ध र वैदिक धर्मको सार भनेको त अभ्यास नै हो । जान्नु ठूलो कुरा हैन, अभ्यास र धारण गर्नु ठूलो कुरा हो । बुद्ध आफैले भनेका छन्, ‘जसले पढ्छ, ज्ञान आर्जन गर्छ तर उसले अभ्यास र व्यबहार गर्दैन भने वास्ना नभएको फूल जस्तै हो ।’
धार्मिक जागरण जरुरी
दुवै धर्म एक अर्काका परिपुरक हुन् । एउटाको अस्तित्वमा मात्रै अर्को धर्म रहन्छ । यो विषय सबैभन्दा पहिले बौद्धिक तहमा छलफल हुनुपर्छ । राज्यको नीति निर्माण तहमा रहेकाहरुलाई बुझाउनुपर्छ । खासगरी राजनीतिक नेताहरुलाई सचेत बनाउनुपर्छ । हामी मिलेरै स्थानीय तहसम्म चेतना फैलाउनुपर्छ । हाम्रो दर्शन र सभ्यता रह्यो भने हामी रहन्छौ । हाम्रो सभ्यता सकियो भने संसारभरी अधार्मिक मान्छेको विकास भएर हिंसा, अशान्ति र द्वन्द भै रहन्छ । संसार प्राणीहरुकै लागि बस्न योग्य हुँदैन । त्यसैले हामी मिलेरै पूर्वीय दर्शन र सभ्यताको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । टोल-टोल र गाउँ-गाउँसम्म, धार्मिक जागरण अभियान फैलाउनुपर्छ ।
आफ्नै अनुभव
मेरो बुझाईमा एन.जी.ओ./आई.एन.जी.ओ.हरुले विभिन्न कार्यक्रमहरुको माध्यमले पश्चिमा संस्कृति र सभ्यतालाई लागु गराईरहेका छन् । राज्यको नीति निर्माण देखि शैक्षिक प्रणाली फेर्नसम्म पनि उनीहरुकै प्रभाव छ । यस्ता विषयहरुमा राज्यका निकायहरु गम्भीर हुनुपर्छ । यो धर्मगुरुहरुले गर्न सक्ने काम होईन । यस्तो विषयमा किन नेताहरुसँग कुरा गर्नु हुन्न त भन्दा भिक्षु थुप्तेन भन्छन्, ‘नेताहरुसँग भेटघाट हुँदा कुरा गर्छु तर उहाँहरुलाई यो कुरामा त्यति चासो नै हुँदैन।’
अबको बाटो
भिक्षु थुप्तेन जिग्डोल पूर्वीय शिक्षालाई विस्तार गर्ने सहि समय आएको बताउँछन् । अब पनि हामीले ध्यान दिन सकेनौं भने हाम्रो संस्कृतिलाई बचाउन सकिदैन । गुरुकुल र गुम्बा शिक्षालाई सरकारले मूल प्रवाहीकरण गरी सकेको छ । तर अझै नीति, नियम बनेको छैन । यसमा केन्द्रीय र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ ।
अहिले गुरुकुल शिक्षा बटुक र गुम्बा शिक्षा भिक्षुले पढ्ने हो भन्ने धारणा बनेको छ । पूर्वीय दर्शनमा आधारित हुँदै आधुनिक शिक्षालाई पनि समायोजन गरेर गुम्बा/गुरुकुल शिक्षा चलाउनुपर्छ । आधुनिक शिक्षाले विवेकको मात्र विकास गर्यो । हृदयको विकास गरेन । त्यसैले अहिलेको मान्छेहरुमा श्रामण, श्रामेणीका, मैत्रि, करुणा, मुदिता, उपेक्षा जस्ता गुणहरु विकास भएकै छैन । आध्यात्मिक शिक्षाले चाहिँ विवेक र हृदय दुबैको विकास गर्छ । जसले आफू र संसारलाई नै प्रकाश छर्नसक्छ ।
हामी हाम्रो धर्म, संस्कृति छोड्न थाल्यौ तर पश्चिमाहरू आकर्षित हुँदै छन् नि ? भन्ने प्रश्नमा भिक्षु थुप्तेन हाँस्दै भन्छन्, ” पश्चिमाहरू ज्ञान गुणका कुराहरु सिक्न पैसा तिरेर बौद्ध र बैदिकमा आए । हाम्रा चाहीं ज्ञानगुण छोडेर डलर लिन उता कुदे ।”