सबै रोगहरु सरकारले नि:शुल्क उपचार गर्ने नीति बनाउँछौं : माननीय कुसुमकुमार कार्की



काठमाडौँ, ७ वैशाख २०७५

‘स्वस्थ जनता : स्वस्थ समाज’ भन्ने अभियानका साथ बु.न.पा. ९ वडाको आयोजना र बुढानिलकण्ठ स्वास्थ्य सेवा प्रतिष्ठानको विशेष सहयोगमा २ दिने नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन प्रदेश सांसद कुसुमकुमार कार्कीले मन्डिखाटारको नेश्नल आईडल हाईस्कुलमा विशेष कार्यक्रम बिच गरे ।

शिविरमा प्रमुख अतिथि प्रदेश सांसद कुसुमकुमार कार्कीले शहरी व्यस्तता, प्रदुषित वातावरण, दवावमूलक जीवनशैलीले गर्दा शहरी जीवन दिनदिनै कष्टकर बन्दै गएको बताए । ठूला रोगहरु लागेपछि जीवनभर कमाएको पैसाले पनि एउटा रोगको उपचार गर्न नसकिने अवस्था रहेको भन्दै उमेर छँदा कमाएको केहि रकम राज्यलाई दिएर, त्यसबापत राज्यले सबैखाले रोगको नि:शुल्क उपचार गर्ने नीति ल्याउने कानुन बनाउन आफू लागिपरेको बताए ।

बूढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले रोग लागिसकेपछि भन्दा रोग लाग्नु अघि नै स्वास्थ्य संस्थामा गई नियमित जाँच गराएर रोगबाट बच्न सुझाव दिए । खरेलले नगरपालिका उपयुक्त स्वास्थ्य नीति बनाएर नगरवासीको जनस्वास्थ्यमा विशेष अभियान चलाउने तयारीमा लागेको समेत बताए ।

दुई दिन सम्म चल्ने नि:शुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सा देखि मनोरोग परामर्शसम्मका सेवाहरु रहेको आयोजकले बताएका छन् ।

शिविरमा डा. भगवान कोईरालाले नगरवासीमा जनस्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम र मनोपरामर्शले निकै सहयोग पुग्ने बताए । वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले जनस्वास्थ्यको क्षेत्रमा वडा कार्यालयले दिन सक्ने सबै सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाए । शिविरको अध्यक्षता स्वास्थ्यकर्मी तथा बूढानिलकण्ठ स्वास्थ्य सेवा प्रतिष्ठानका अध्यक्ष ध्रुब रिमालले गरेका थिए ।

शिविरमा शिक्षासेवी हेमनाथ पौडेल, जगतप्रसाद उपाध्याय, वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्यहरु, डाक्टरहरु, नर्सहरु, स्थानीय समाजसेवीहरु र सेवाग्राहीहरुको बाक्लो उपस्थिति थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्