काठमाडौं ९ वैशाख: कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिनाभन्दा बढी भयो । सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सरकारी निवासमै बस्छन् । प्रदेश सरकारका एक जना मन्त्री भने अहिले पनि होटलमा बस्दै आएका छन् ।
सुविधायुक्त सरकारी निवास नपाएपछि भौतिक पूर्वाधार विकास मन्त्री दीपक खड्क खत्री वीरेन्द्रनगरको राप्ती होटल एण्ड लजमा बस्दै आएका हुन् ।
खत्री प्रदेश सांसदमा निर्वाचित भएदेखि नै राप्ती होटलमा दुई कोठा भाडामा लिएर बस्दै आएका थिए । मन्त्री भएपछि पनि उनी त्यही बसिरहेका छन् ।
होटलमा मन्त्रीसहित उनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र निजी सहायक पनि बस्छन् । उनलाई भेट्न चाहनेहरु होटलमा नै आउने गरेका छन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।