काठमाडौं ९ वैशाख: भारतको तीनदिने राजकीय भ्रमणलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङ पठाएका प्रधानमन्त्री केपी शर्मा ओली पहिला चीन भ्रमण गर्ने कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा स्वागत गर्ने दोधारमा छन् ।
ज्ञवालीको भ्रमणका क्रममा चीनले ओलीलाई स्वागत गर्न आतुर रहेको सन्देश दिएको छ भने कूटनीतिज्ञहरुले भारतीय समकक्षीलाई चीन भ्रमणअगावै काठमाडौंमा स्वागत गर्न सुझाएका छन् । यसले प्रधानमन्त्रीलाई निर्णय लिन थप कठिन बनाएको छ ।
स्रोतको हवाला दिँदै कान्तिपुर अगाडि लेख्छ– मोदी काठमाडौं ओर्लनुअघि नै प्रधानमन्त्री बेइजिङ पुगेर फर्कनेबारे आन्तरिक छलफल चलिरहे पनि निर्णय हुन बाँकी छ । भारतीयले उक्त चाहना कूटनीतिक माध्यमबाट व्यक्त गरिसकेको भए पनि त्यसको निर्णय भएको छैन ।
प्रधानमन्त्री भएपछि पहिला दिल्ली जाने परम्परालाई निरन्तरता दिएका ओलीलाई चीन भ्रमण तत्काल गर्न एक प्रकारको दबाव छ । परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्रीको उत्तर यात्राबारे लगातार छलफल भइरहे पनि कुन पहिला भन्ने टुंगो लाग्न सकेको छैन । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।