काठमाडौं, ९ वैशाख
सदरखोर जेलमा रहेका माओवादी पूर्वसांसद बालकृष्ण ढुंगेललाई नेकपा एमाले–माओवादी केन्द्र गठबन्धन सरकारले उन्मुक्ति दिने तयारी गरेको छ ।
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाउँदा पनि फरार रहेका ढुंगेललाई ६ महिना अघि प्रहरीले सातदोबाटोबाट पक्राउ गरी सदरखोरमा पठाएको थियो ।
केही दिनअघि माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल ढुंगेललाई भेट्न सदरखोर पुगेका थिए । जेल निरिक्षणको नाममा पुगेका गृहमन्त्री बादलले जसरी पनि जेलमुक्त गराउने आश्वासन ढुंगेललाई दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसामु माओवादीले ढुंगेल उन्मुक्तिका लागि पनि प्रस्ताव गरेको छ । पार्टी एकताका प्राविधिक पक्षसहित ढुंगेल उन्मुक्तिलाई पनि प्राथमिकताका साथ माओवादीले छलफलमा ल्याएको स्रोतले जनाएको छ ।
लोकतन्त्र दिवसको अवसर पारेर आज ११ वैशाखमा नै उनलाई आम माफी दिनुपर्ने माओवादीको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले ढुंगेल उन्मुक्तिलाई विशेष चासो नदिएपछि गृहमन्त्री बादलले केही समयअघि रोस प्रकट गरेका थिए ।
मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेरै उनलाई उन्मुक्ति दिनुपर्ने माओवादीले प्रस्ताव गर्दै आएको छ ।
ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा नै जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।
ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि सर्वोच्चले ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश समेत दिएको थियो । यसपछि प्रहरीले उनलाई पक्राउ गरी जेल पठाएको थियो ।
माओवादी कार्यकर्ताहरूले ढुंगेल उन्मुक्तिको माग राख्दै ओखलढुंगामा रहेको स्व. श्रेष्ठको शालिक पनि तोडफोड गरेका थिए । सर्वोच्च अदालतलाई च्यालेन्ज गरेपछि ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश आएको थियो ।
ढुंगेलले १२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्ने हुन्छ । तर, उनलाई ६ महिनामा नै निकाल्नका लागि सरकारमा माओवादीले कसरत गरी निर्णय गराउन लागेको छ ।