काठमाडौँ, ९ बैशाख
हेल्लो..! माधव कमरेड हो ?
हो, म माधव नेपाल बोलेको..
म केपी ओली बोलेको…
(स्वर नचिनेर एकछिन अलमल..)
हजुर, म चौतारीको माधव नेपाल बोलेको ।
ए, तपाईं पो !
हजुर !
चौतारीमा शितलै छ ? (…ठट्यौली पारामा)
हजुर सबै राम्रो छ । त्यसपछि केही व्यक्तिगत कुरा…
लौ त म व्यस्त छु है !
फोन काटियो ।
फोन गर्ने व्यक्ति थिए, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालसँग कुरा गर्नुथियो । ओलीका स्वकीय सचिवले फोन लगाइदिए । तर, परे अर्कै माधव नेपाल । एमाले सम्बद्द पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपालको मोबाइलमा घण्टी बजेको हो । नाम मिल्दाको फसादमा प्रधानमन्त्री ओली पनि परेका हुन् ।
‘माधव कमरेड हो भनेपछि मैले पनि हो भनेर जबाफ दिएँ । तर, स्वर चिनिन । उहाँले म केपी ओली बोलेको भनेपछि थाहा भइहाल्यो, फोन मलाई हैन्, पार्टीका नेता माधव नेपाललाई हो’, पत्रकार नेपालले दैनिक नेपालसँग भने, ‘त्यसपछि म आफैले चौतारीको माधव नेपाल भनेपछि उहाँ पनि हाँस्नुभयो ।’
पत्रकार नेपालले रमाइलो संयोग सुनाउँदै भने – ‘योजनाबद्द भएको भए त म पनि केही लामै कुरा गर्थें, तर आफै अलमलमा परेँ । अचानक के भन्ने-भन्ने भयो ।’