अझै सुरू भएन एमाले-माओवादीको संयुक्त कार्यक्रम , भित्तापट्टी फर्काएर राखियो बोर्डलाई



काठमाडौं, ९ वैशाख

लेनिन जयन्तीको अवसरमा एमाले र माओवादीले आइतबार गर्ने भनिएको संयुक्त सभा कतिखेर हुने अझै निश्चित भएको छैन।

कार्यक्रम सुरु नहुँदै बोर्डको विषयमा विवाद देखिएपछि कार्यक्रम स्थगित भएको हो।

लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर नभएपछि दर्शकदिर्घामा बसेका एक व्यक्तिले बोर्डबारे आपत्ती जनाएका थिए। त्यती मात्र होइन उनले अगाडि मञ्चमै आएर बोर्ड हटाउने प्रयास गरे।

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारी तथा केपी ओली र प्रचण्डका ठूला तस्वीर भएको बोर्डमा लेनिनकै तस्बिर नभएपछि कार्यकर्ताले कार्यक्रम सुरू हुनेवित्तिकै हुटिङ सुरू भयो।

लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरे । कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड निकालेर मञ्चमा उल्टो पारेर राखिएको छ।

यसैबीच कार्यक्रमका लागि आएका प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरू र एमाले माओवादीका शीर्ष नेताहरू पर्खेर बसिरहेका छन्।

यसैबीच माओवादी केन्द्रका नेता अग्नी सापकोटाले सेतोपाटीसँग कुरा गर्दै संयोजनको गल्तीले यस्तो भएको बताए। ‘संयोजनको गल्तीले अहिलेको स्थिति आएको हो। हामीले कम्युनिष्ट स्थापना दिवस र लेनिन जयन्ती एकै पटक मनाउने भनेका थियौ। तर लेनिनकै फोटो नहुनु दुखद् कुरा हो।’

उनले आयोजकले नयाँ बोर्ड ल्याएपछि कार्यक्रम सुरू हुने जानकारी दिए।

आयोजकले पुनः नयाँ बोर्ड छापेर ल्याउने भएपछि समय लाग्ने भएको हो। बोर्ड नआउन्जेल कार्यक्रम कतिखेर सुरू हुने यकिन छैन। यसैबीच कार्यक्रम स्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

यसैबीच कार्यक्रम सुरू नभएसम्म गायक बद्री पंगेनीले सांगीतिक मनोरञ्जन दिएका छन्। उनले ‘प्रचण्ड र ओली नफेर है त्यो बोली….’ भन्दै गीत गाएर हलमा रमाइलो प्रदान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्