युवा लक्ष्यित ‘सुशील श्री पुरस्कार’ स्थापना



काठमाडौँ, ९ वैशाख

सुशील कोइराला मेमोरियल फाउण्डेसनले भोलिको नेपालको मार्गचित्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सरिक गराउन रु एक लाख राशिको ‘सुशील श्री पुरस्कार’ स्थापना गरेको छ ।

स्थापनाकालदेखि नै सिर्जनात्मक कार्य गर्र्दै आएको फाउण्डेसनले आज पत्रकार सम्मेलन गरी नेपालसम्बन्धी युवाको बुझाइ, दृष्टिकोण र नेतृत्व क्षमतालाई लेखमार्फत उत्कृष्ट ढंगले व्यक्त गर्ने लेखकलाई उक्त पुरस्कारबाट सम्मानित गरिने जानकारी गराएको हो ।

कार्यक्रममा फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले यसवर्ष राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरी युवाको विचार र चिन्तनको संवाहकका रुपमा यो पुरस्कारलाई अघि बढाउने निर्णय गरिएको बताउनुभयो ।

नेपालको सामाजिक धरातल, जनजीविका र पर्यावरणको यथार्थ प्रतिविम्बन हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै जागरण फैलाउने अभियानमा युवालाई सरिक गराउनु पुरस्कारको प्रमुख उद्देश्य भएको उहाँले जानकारी गराउनुभयो ।

फाउण्डेसनले पुरस्कारका लागि ‘लोकतान्त्रिक नेपालको सामाजिक तथा आर्थिक विकासमा युवाको भूमिका’ विषय निर्धारण गरेको छ । लेख नेपाली वा अंग्रेजी भाषामा सात हजारदेखि आठ हजार शब्दको हुनुपर्ने छ ।

भाग लिने व्यक्तिको उमेर समूह २० देखि ३५ वर्ष राखिएको छ भने पुरस्कार छनौटका लागि प्रा डा जयराज आचार्यको अध्यक्षतामा विभिन्न क्षेत्रका विज्ञसहितको समिति गठन गरिएको छ ।

छनोट समितिका अध्यक्ष आचार्यले मुलुकमा बौद्धिकतासँग सम्बन्धित संस्थाको खडेरी पर्दै गएको सन्दर्भमा मुलुकको चौतर्फी विकासका लागि अध्ययन अनुसन्धान गर्ने संस्थालाई उत्प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सरकारले युवालाई केन्द्रित गरी कार्यक्रम ल्याउन नसकेकाले दैनिक सयाँ युवा बाध्य भएर कामका लागि विदेशिनु परेको उहाँले बताउनुभयो । उहाँका अनुसार लेखमा देशको वर्तमान अवस्थाको विश्लेषण, त्यसका चुनौती, देशका लागि आफ्नो सपना, सपनालाई यथार्थ बनाउने तरिका, भोलिको लोकतान्त्रिक नेपालको विकासमा आफ्नो सहभागिता तथा योगदान जस्ता विषय समावेश गर्नुपर्ने छ ।

समितिका सदस्य एवं शिक्षाविद् डा डिल्ली रिमालले युवा वर्गको सोच, नेतत्व क्षमता पहिचान गर्न र सक्षम नेतृत्वलाई उचित मञ्च प्रदान गर्न पुरस्कारबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लेख आगामी असार १ देखि ८ गतेसम्म बुझाइसक्नुपर्ने छ । आगामी असार ३१ गते विश्व युवा दक्षता दिवसका दिन विजेताको घोषणा गरिने छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस्