जयपुर, १० वैशाख
राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ । राजस्थानले छैटौं खेलमा तेस्रो खेल जितेको छ ।
पाँचौं खेलमा मुम्बईको यो चौथो हार हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको राजस्थानले २ बलअघि नै ७ विकेट गुमाएर जित हासिल गरेको थियो । कृष्णप्पा गोथमले अविजित ३३ रन बनाउनुअघि सञ्जु सामसोनले अर्धशतक र बेन स्टोक्सले ४० रन बनाउँदै जितको आधार तयार पारेका थिए ।
३९ बल खेलका सञ्जुले ४ चौकाको मद्दतमा ५२ रन बनाए । २७ बल खेलेका स्टोक्सले ३ चौका र १ छक्का प्रहार गरे । मात्र ११ बल खेलेका कृष्णप्पाले ४ चौका र २ छक्का प्रहार गरेका थिए । अन्जिके रहाने १४ रन बनाउँदै आउट भएका थिए ।
मुम्बईका लागि जसप्रित ब्रुमराह, हार्दिक पाण्डेयले समान २ तथा मिचेल म्याक्लेघानले, क्रुनाल पाण्डेय र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले ओपनर सूर्यकुमार यादव, इशान किशनको अर्धशतकको मद्दतमा ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।
सूर्यकुमारले ७२ र इशानले ५८ रन बनाएका थिए । ४७ बल खेलेका सूर्य कुमारले ६ चौका र ३ छक्का प्रहार गरे । इशानले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । किरोन पोलार्डले २० बलमा १ छक्का र १ चौकासहित अविजित २१ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
राजस्थानका जोफ्रा आर्चेरले ३, धवल कुलकर्णीले २ विकेट लिए । आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ४ रनले हराउँदै चेन्नई सुपर किङ्स आइपिएलको शीर्षस्थानमा उक्लेको छ । आइपिएलमा सोमबार दिल्ली डेयर डेभिल्स र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ । -(एजेन्सी)