पिएफए वर्षको उत्कृष्ट खेलाडी ‘सालाह’



लण्डन, १० वैशाख

लिभरपुलका मोहम्मद सालाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७-१८ को उपाधि जितेका छन्।

इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी केन, सिटीका लेरोई साने, डेभिड सिल्भा र म्यानचेस्टर युनाइटेडका डेभिड डेह्यालाई पछि पार्दै उक्त उपाधि जितेका हुन्।

म्यानचेस्टर सिटीका सानेले वर्षको उत्कृष्ट यूवा खेलाडीको उपाधि जिते। त्यस्तै चेल्सीकी फ्रान किर्बी वर्षको उत्कृष्ट महिला खेलाडी तथा ब्रिस्टोल सिटीकी लौरेल हेम्प उत्कृष्ट महिला यूवा खेलाडी छानिए।

उक्त उपाधि पाएपछि सालाहले भने, “खेलाडीहरुको मतबाट छानिने भएकाले यस उपाधि पाउँदा म धेरै खुशी छु “, उनले थपे, “मैले चेल्सीमा अवसर पाइन तर मैले फर्किएर आफ्नो कौशलता देखाउनेमा म विश्वस्त थिए।”

सालाहले प्रिमियर लिगमा ३३ खेल खेल्दै ३१ गोल गरेका छन् भने लिभरपुलका लागि सबै प्रतियोगितामा गरेर ४६ खेलमा ४१ गोल गरिसकेका छन्। -(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्