काठमाडौं, १० वैशाख २०७५
धर्म, संस्कृतिको सम्बन्धमा नेपाली समाजमा केहि समययता चर्का आवाजहरु उठ्न थालेका छन् । कोहि हिन्दु राष्ट्र हुनुपर्छ भन्नेमा छन् भने कोहि सनातन राष्ट्र हुनुपर्छ भन्नेमा । कोहि हिन्दुराष्ट्रको नाममा धार्मिक आन्दोलन चर्काएर राजालाई पुन:स्थापित गराउने कसरतमा छन् । अर्कोतिर मुलुकभर जातीय हिंसा भड्काएर स्थिर बन्दै गएको राजनीतिलाई अस्थिर बनाउने योजनाहरु पनि बुनिएका सुनिन्छन । गाई काट्न पाउनुपर्छ, गाईकोमासु खाना पाउनुपर्छ भन्ने आवाजले सिंहदरबार नै गुन्जिन थालिसक्यो । यहि मौकाको फाईदा उठाउँदै २०३० सम्ममा नेपाललाई क्रिस्चियन राष्ट्र बनाउने योजनाका पर्चाहरु पनि बजारमा आएका छन् ।
कोहि डलर बोलेका भन्छन्, कोहि विदेशी एजेन्टहरु हुन् भन्छन् । डलरले धेरैलाई डल्लो पारेको धारणाहरु धर्म गुरुहरुले सार्वजनिक कार्यक्रममा बोल्न थालिसकें । हाम्रो संस्कृति मास्न पश्चिमाहरूले एनजीओको दुरुपयोग गरेका धारणाहरु मन्त्रीहरुबाटै आउन थाले।
यी सबै कारणहरुले समाजमा जातीय, धार्मिक, क्षेत्रिय द्वन्दका संकेतहरु देखिन थाले । त्यसैले हामी सामाजिक विषयमा नियमित बौद्धिक बहस चलाउनुपर्छ भन्ने निष्कर्षमा पुग्यौं। प्राज्ञिकहरुसँगको व्यक्तिगत छलफलपछि पहिलो सामुहिक छलफल मुलुकको प्राज्ञिक थलो, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गर्यौं । जुन छलफलमा सहभागीहरुले नियमित बहस आवश्यक भएको धारणा राखें ।
दोश्रो छलफल राष्ट्रदेव पशुपतिनाथको प्रांगणमा गर्यौं । जहाँ धार्मिकगुरुहरु, शिक्षाविद् र धार्मिक अभियन्ताहरुलाई समेत निमन्त्रणा गरियो। छलफलले वैदिकशास्त्र, कर्मकाण्ड, ज्योतिषशास्त्र, वास्तुशास्त्र, तन्त्रविधा र भक्ति संगीतजस्ता विषयहरुमा विषयगत विज्ञ समुहको आवश्यकतामा जोड दियो ।
छलफलमा सहभागी विद्वानहरुले राखेका प्रतिनिधि विचारहरु :
नेपाल सिन्धु किन नलेख्ने ? : शिक्षाविद् प्रा.डा. विधानाथ कोईराला
कोईराला सामान्य जीवनशैली, प्रष्ट विचार, निश्छल र खुल्ला हृदयका विद्वान हुन् । आफ्नो पुरा जीवन शैक्षिक विकासमा खर्चिएका उनी सयौं पीएचडीधारीका पनि गुरु हुन् ।
सनातन दर्शनका विश्लेषक कोईराला, वैदिक र आधुनिक शिक्षाका व्याख्याता पनि मानिन्छन । वेद, उपनिषद र संस्कृतिका खाट्टी कुरा पुस्तान्तरण (नयाँपुस्तामा हस्तान्तरण) गर्ने हाम्रो अभियानमा उनी रुचिपूर्वक जोडिए ।
कार्यक्रममा कोईरालाले भने,’ हाम्रा वेदहरु अतिनै वैज्ञानिक छन् । यसका ज्ञाताहरु आफू जान्दछन तर हामीलाई समेत बुझाउन सक्दैनन् । हाम्रा पुर्खाले चलाएका सबैजसो परम्परा विज्ञानसम्मत भएपनि त्यसको सरलीकरण नहुँदा युवापुस्ताले रुढीवादीको रुपमा लिए ।
अरु धर्ममा देवता र धर्मग्रन्थ एउटा हुने तर हाम्रोमा हजारौं हुनुले पनि जनमानसमा दुविधा रहेको बताए । हाम्रो धर्ममा जेलिएका शब्दहरु ( देवता, देवी, ईश्वर, ब्रम्ह, आत्मा, परात्मा) बुझ्न खोज्दाखोज्दै व्यक्ति हराउने स्थिति रहेको समेत बताए । हाम्रा पण्डित वा भिक्षुहरु मन्दिर/गुम्बामा आउने भक्तसँग थाप्ने मात्र भए, आफ्नो ज्ञान समाजमा बाँड्ने कर्म नै गरेनन ।
ज्ञान र क्षमताको आधारमा गरिएको वर्णश्रम व्यवस्थाको मर्म विपरित जन्मको आधारमा गरिएको वर्णश्रमको व्याख्याले समाजमा विभेद र विभाजनको खाडल सिर्जना गर्यो । ‘
उनको जोड थियो, ‘धेरै ऋषिहरुले आफू अनुकुलका ग्रन्थहरु लेखें । हाम्रा पुर्खाले विजय सिन्धु, निर्णय सिन्धु लेखे । हामी सबै मिलेर नेपाल सिन्धु बनाउन मिल्दैन र ?’
कोईरालाको सुझावमा,’ विषयगत शास्त्रार्थ शुरु गर्ने, विज्ञान र संस्कृति विचको तुलानात्मक अध्ययन गर्ने, स-साना बुक्लेट प्रकाशन र वितरण गर्ने, योगी, जोगी, पण्डित र पुरोहितहरुको पूर्ण अभिमुखिकरण गर्ने ।
प्रा.डा. विधानाथ कोइरालाको पूर्ण विचारको सुन्न तलको लिंक हेर्नुहोस् :
डलरमा डल्लो नपरौं : रमेशकुमार उप्रेती, कार्यकारी निर्देशक, पशुपति क्षेत्र विकास कोष
प्रगतिशील विचारमा प्रतिवद्ध उप्रेती व्यवस्थापन विषयका स्नातकोत्तर हुन् । पशुपति क्षेत्र विकास कोषमा कार्यरत रहँदा व्यवस्थापन सहित धार्मिक अध्ययन र अनुसन्धानलाई पनि उनले जीवनको पाटो बनाए ।
कार्यक्रममा उनको भने,’ २०१८ सालको संविधानमा राखिएको हिन्दु राष्ट्रलाई हामीले सनातन भन्न थाल्यौं । त्यहि हिन्दु राष्ट्र पुर्नस्थापनाको राजनीतिले समाज तताउँदैछ । हुँदा-हुँदा क्रान्तिकारीहरु कै मुखबाट प्रतिक्रान्तिको तयारी भएको पनि सुन्न थालियो । सनातन संस्कृतिमा पश्चिमा आक्रमण प्रति कसैको ध्यान नगएको देखियो । संस्कृत विद्यालय वा विश्वविद्यालय पढाउने नेपाल भरिका अधिकांश प्राध्यापकहरुले आफ्ना सन्तान निजि विद्यालयमा पढाएर संस्कृत पढ्न कोहि आएनन् भन्ने धारणाले परिवर्तन सम्भव छ ? उनले प्रतिप्रश्न गरे ।
गाउँमा ढ्यांग्रो ठोक्ने हिजोको धामीले चिराईतो पनि ख्वाउथ्यो । जरो आएको विरामी चिराईतोको प्रभावले निको हुन्थ्यो । आजको धामी ढ्यांग्रो मात्र ठोक्छ, कुखुरा, खसी काट्न लगाउछ, रोग निको हुँदैन । अनि प्रभु यशुका दूतहरु प्रार्थना गर्दै प्रभुको आशिष छ, यो प्रसादी खाउँ भन्दै सिटामोल घोलेको पानी ख्वाउँछन् । उनीहरुको प्रार्थना र प्रसादी जारी रहन्छ । विरामी निको हुन्छ । अनि विरामी, उसका परिवार, विस्तारै प्रभूको पछि लाग्न थाल्छन ।
किश्चियनहरुले पम्प्लेट, पर्चा र किताब लिएर हाम्रो घरघरमा ढोका ठोक्तै हिड्ने । ईच्छा नहुँदा नहुँदै प्रभुको वचन सुन्नुपर्ने । नि:शुल्क बाईबल र धार्मिक पुस्तिका दिने । हामी चाहिं आफ्नैलाई सिकाउन लाज मान्ने । अनि कसरी हुन्छ संस्कृतिको रक्षा ? यदि हामी लाज मानिरहने हो भने, उनीहरुले जे गरेपनि चुप रहने वा डलर मै डल्लो परेर बस्ने हो भने । सोचौ हाम्रो मुलुक र संस्कृतिको रक्षा कसरी हुन सक्छ त ?’
उनले थप जोड दिए, ‘सनातन संस्कृतिलाई बचाउने हो भने वेद, गीता र उपनिषदमा भएका विषयहरु जनताले बुझ्नेगरी बुक्लेटको रुपमा प्रकाशन गरी दरिलो संगठन बनाएर देशैभरि बाँड्नुपर्छ ।’
रमेश कुमार उप्रेतीको पुरा विचार सुन्न यो लिंक खोल्नुहोस :
धार्मिक व्याख्या सरल हुनुपर्छ : भागवतवाचक दिवाकर भण्डारी
आधुनिक शिक्षण पेशामा आवद्ध पण्डित भण्डारीले देशका विभिन्न भागहरुमा सयौंपटक भागवत वाचन गरेका छन् । नेपाली र अंग्रेजी दुवै भाषामा भागवतको व्याख्या गर्न सक्ने क्षमताले पनि उनको लोकप्रियता बढेको छ ।
सनातन संस्कृति अभियन्ता भण्डारीले हाम्रो छलफलमा भने,’ हिन्दु धर्म भित्र धेरै रुटहरू छन् । सबैले आफूलाई सनातनी भन्छन् । पहिले सनातन शब्दकै बारेमा बुझ्नु पर्ने भयो । देवता, धर्म, संस्कृति, बुझ्ने र व्याख्या गर्ने तरिका समेत व्यक्ति पिच्छे फरक फरक छन् । भागवातका अठारहजार मन्त्रमा हिन्दु शब्द कहिँ नभएको धारणा पनि राखे । हामी आ-आफैंमा धार्मिक शब्दार्थ, देवताहरु र कर्मकाण्ड मै समान धारणा छैन । वहसको माध्यामबाट विद्वानहरुले विवादित विषयहरुमा साझा धारणा बनाउनु पर्नेमा जोड दिए ।’
पण्डित दिवाकर भण्डारीको पुरा विचार सुन्नको लागि यो लिंकमा जानुहोस् :
छलफलमा सहभागी विद्वानहरुले सनातन धर्मका शब्दार्थ, व्याख्या र अनेकौं पुस्तकमा लेखिएका फरक-फरक धारणाहरुलाई एकीकृत गरी सरल र बुझिने बनाउनुपर्नेमा जोड दिए । वेद, गीता र उपनिषद्हरुका खास कुराहरु पुस्तिकाको रुपमा प्रकाशन गरी जनमानसमा छिट्टै पुर्याउनु पर्नेमा सबैको समान धारणा थियो ।