लिभरपुल, ११ वैशाख
च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा इटालीको एएस रोमालाई निम्त्याउँदै छ। खेल आज राती नेपाली समय अनुसार राती १२:३० मा सुरु हुँदैछ।
लिभरपुलले अघिल्लो खेलमा प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाडेको थियो भने रोमाले स्पाललाई सिरी ‘ए’मा ३-० ले पराजित गरेको थियो।
बार्सिलोनाविरुद्ध अप्रत्याशित पुनरागमन गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल रोमाले एनफिल्डमा लिभरपुललाई निराश पार्ने लक्ष्य लिएको छ। रोमाका प्रशिक्षक युसेडियो डी फ्रान्सेसकोले खेलअघि प्रि म्याच कन्फरेन्स लिभरपुललाई जित्न हरसंभव प्रयास गर्ने बताए, “लिभरपुल बार्सिलोना भन्दा भिन्न छ, हामीले लिभरपुलको कमजोरीको फाइदा उठाउँदै जित्ने प्रयास गर्नेछौं। “
लिभरपुलका प्रशिक्षक यर्गन क्लबले भने च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नु दुवै टोलीका लागि महत्वपूर्ण क्षण भएकाले यस खेलको मजा लिने जनाए, “च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नु दुवै लिभरपुल र रोमाका लागि महत्वपूर्ण क्षण हो, त्यसैल दुवै टोलीले खेलको आनन्द लिनेछ। हामीले जित्ने प्रयास गर्नेछौं।”
लिभरपुल र रोमाबीच च्याम्पियन्स लिगको ५ भेटमा लिभरपुलको नाममा २ जित छ भने २ खेल बराबरी र १ मा रोमाको जित छ। पछिल्लो ५ खेलमा लिभरपुल ३ जित र २ बराबरीसँगै अपराजित छ, त्यसतै रोमाले पछिलो ५ खेलमा ३ जित, १ बराबरी र १ हारको नतिजा निकालेको छ। – (एजेन्सी)