नियन, ११ वैशाख
फाइनलमा चेल्सीलाई ३-० ले पराजित गर्दै बार्सिलोनाले युईएफए यूथ लिगको उपाधि हात पारेको छ। बार्सिलोनाको जितमा अलेह्यान्द्रो मार्क्युसले दुई गोल गरे।
स्विट्जरल्याण्डको नियन स्थित कोलोभ्रे स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा मार्क्युसले बार्सिलोनालाई ३३ औं मिनेटमा अग्रता दिलाए । उनले ५५ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर गरे।
चेल्सीले खेलमा फर्किने प्रयास गरेपनि कलम हडसन र चार्ली ब्राउनको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो। अबेल रुइजले खेलको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई तेस्रो गोल दिलाए।
२०१३-१४ बाट सुरु भएको युईएफए यूथ लिगमा च्याम्पियन्स लिगमा सहभागी ३२ टोली तथा युईएफएले तोकेका अन्य देशका ३२ लिग विजेताका यू-१९ टिम भिड्छन। पहिलो संस्करण जितेको बार्सिलोनाको यो दोस्रो उपाधि हो। -(एजेन्सी)