काठमाडौं १२ वैशाख: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ ।
‘भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने तयारीमा छौँ,’ प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनालले नयाँ पत्रिकासँग भने, ‘बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ । जनकपुर भ्रमणको सबै व्यवस्थापन हामी लिन्छौँ । तर, त्यही मितिमा उहाँ आउने हो कि होइन भन्नेचाहिँ तय हुन बाँकी छ ।’
मोदीको सम्भावित भ्रमण व्यवस्थापनका विषयमा मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका सचिव, सहसचिवसँग छलफल गरेका थिए । शिष्टाचार अधिकारीले मोदीको सम्भावित भ्रमणबारे ब्रिफिङ गरेका थिए ।
मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग २९ वैशाखमा भेटवार्ता गर्ने गरी कार्यतालिका बनिरहेको छ । मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने तथा मोदीसँग पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यतालिकामा छलफल भइरहेको छ ।
प्रधानमन्त्री मोदीको यो तेस्रो औपचारिक भ्रमण हुनेछ । उनी ०७१ साउन १८ र १९ मा राजकीय भ्रमणमा आएका थिए भने सोही वर्ष मंसिर ९ देखि ११ सम्म सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आएका थिए ।
९ मंसिरमा मोदी जनकपुर जाने कार्यक्रम भए पनि सुरक्षाका कारण स्थगित भएको थियो । उनलाई स्वागत गर्न तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधि जनकपुर पुगेका थिए, तर मोदी नआउने तय भएपछि १० मंसिरमा फर्केका थिए ।
मोदीको सुरक्षामा कमी हुँदैन : सेना
सेनाले मोदी भ्रमणका लागि सुरक्षाको तयारीमा कमी नहुने बताएको छ । सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने, ‘भिभिआइपी भ्रमणका वेला सुरक्षा व्यवस्था सेनाले नै गर्ने हो, हामी तयारी अवस्थामा छौँ ।
तर, औपचारिक रूपमा हामीलाई यो मितिमा भ्रमण हुन्छ भन्ने खबर आइसकेको छैन ।’ प्रधानमन्त्री मोदीले यसअघि संविधानसभालाई सम्बोधन गरेका थिए । यसपटक त्यस्तो कार्यक्रम राखिएको छैन । उनले पशुपति मन्दिर दर्शन गर्ने–नगर्ने पनि अझै तय भएको छैन । तर, पशुपतिनाथमा मोदीले घोषणा गरेको सहयोगका आधारमा धर्मशाला निर्माण कार्य यतिवेला धमाधम भइरहेको छ ।
मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्यास हुनेछ । स्रोतका अनुसार काठमाडौंमा स्विच दबाएर शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रदेश सरकारको आयोजनामा अभिनन्दन : जितेन्द्र सोनल, भौतिक पूर्वाधारमन्त्री (प्रदेश २)
भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने गरी तयारीमा छौँ । बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ । जनकपुर भ्रमणको सबै व्यवस्थापन हामी लिन्छौँ । तर, त्यही मितिमा उहाँ आउने हो कि होइन भन्नचाहिँ तय हुन बाँकी छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।