वर्षौ पछी रुप फेर्दै उदयपुरको रुपाटार



काठमाडौं, १२ वैशाख

दशक पहिले सम्म विकट पहाडी गाविसको रुपमा परिचित उदयपुरको रुपाटार अहिले ताप्ली गाउँपालिकाको केन्द्र बनेको छ । ८ वर्ष पहिलेदेखि ग्रामिण सडकले जोडिएपछि जिल्लाको दोस्रो ठूलो बजार कटारी सँग रुपाटार निकट भयो । कटारी मात्रै होईन रुपाटार – ओख्ले हुँदै कटारी नगरपालिकाकै बेतेनीमा सिद्धिचरण राजमार्ग सँग जोडिएर घुर्मीहुँदै काठमाडौं पनि रुपाटारबाट आउजाउ गर्न सकिने भयो ।
रुपाटारबाट बसाईसरेर अन्यत्र जानेको संख्या समेत घट्दै गएको छ ।

सडक संञ्जालको विकास नहुँदा खोटाँङ्गको दक्षिणी भेग र ओखलढुङ्गाको केही भूभागबाट मकै , धान जस्ता अन्न खरिद गर्न रुपाटार आईपुग्नु पर्ने वाध्यता थियो । रुपाटारमा अझै पनि अन्न प्रशस्त फल्छ । रुपाटारबाट ताप्ली गाउँपालिकाको सबै वडासम्म अहिले ग्रामिण सडक पुगेको छ ।

धान , मकै , कोदोको अलावा रुपाटारको प्रख्यात कालोमासको दाल अहिले पनि खोटाँङ्ग, ओखलढुङ्गा र कटारी हुँदै जिल्ला बाहिर निकासी भैरहेको कृषकहरु बताउँछन् । रुपाटारका स्थानीयले मात्रै रुपाटार क्षेत्रबाट संञ्चालन हुने गरी आधादर्जन बोलेरो जीप भित्राएका छन् । स्थानीय पेशल खड्का र केवल खड्काले रुपाटार सफारी नामक यात्रुबाहक बस संञ्चालनमा ल्याएपछि रुपाटारले झनै परिचित हुने अवसर पायो ।

यारीखोला रुपाटारका लागि महत्वपूर्ण खोला हो जसले रुपाटारमा प्रसस्त धान फलाउन सिंचाई मात्र गरेको छैन् लघुजलविद्युतले रुपाटारलाई झलमल्ल बनाईदिएको छ । सुनकोशी किनार सँग जोडिएको रुपाटारको कुमलटार बजार व्यापारिक रुपमा परिचित हुँदै गएको छ । सुनकोशीको माछा खान पाईने बजारले जिल्लामा परिचित कुमलटार नजिकैबाट राईघाटको झोलुँङ्गे पुलले छिमेकी जिल्ला खोटाँङ्गमा अन्न पुराउन र ल्याउन पनि सहज छ ।

प्रसुती गृह सहितको स्वास्थ्य चौकीले स्वास्थ्य सेवा प्रदान गरेकाले महिलाहरु स्वास्थ्य चौकीमा बच्चा जन्माउन थालेका छन् । महेन्द्ररत्न मावि जस्ता जिल्लामा चर्चित शैक्षिक संस्थाले रुपाटरको शैक्षिक अवस्थामा भूमिका खेलिरहेको छ । प्रसस्त अन्न उत्पादन हुने रुपाटारमा हाईब्रिड मकै उत्पादन देखि अनार खेति समेत कृषकहरुले गर्न थालेका छन् ।

रेमिट्यान्स समेत गाउँमै लगानी हुन थालेकाले सवारीसाधन मार्फत सिमेन्ट , रड , जस्ता गाउँमा पुगेपछि रुपाटारमा पक्कीघर बनाउने हरियो जस्ता लगाउने क्रम बढ्दो छ । रुपाटारमा ठकुरी , राई , क्षेत्री ,बाहुन र अन्य जातिले बसोवास गर्दै आएका छन् । ताप्ली गाउँपालिकाको केन्द्र बनेसँगै सुनकोसी किनारको रुपाटारले झनै रुप फेर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्