‘दलितहरु सामाजिक संजालमा आफ्नो जात नलुकाउ’ : रुपा सुनार



काठमाडौं, १४ वैशाख

कसैले नाम के हो भनेर सोध्यो भने गर्वका साथ भन्न सक्दैनौँ कि म फलाना बि.क हो भनेर । साथै सामाजिक सञ्जालहरुमा पनि आफ्नो नाम खुलाएर राख्दैनौँ ।

हामीले यसरी खुलेर आफ्नो परिचय नदिन अरुले हैन्, हामी आफैले आफैलाई सानो सम्झिएको र आफ्नो जातप्रति गर्व नभएको जस्तो देखिन्छ । तसर्थ, कसैले नाम सोध्दा ढुक्क भएर म फलानो (वि.क, नेपाली , परियार) भन्न सक्नुपर्छ । ढुक्क भएर भन्न सकौँ कि मलाई दलित भन् तर दलितको नाउँमा विभेद नगर ।

केहि समय अगाडिको कुरा । जुन मनमा काँडाझैँ बिझेर बसेको थियो । आज फेरि याद आयो । म एउटा कार्यक्रममा गजल भनेर मञ्चबाट तल आउँदै थिए, छेउमा मेरै कुरा गरिरहेको आभाष भयो । थोरै कान टाठो बनाएँ, साँच्चै मेरै कुरा गरिएको रैछ । त्यतै अल्मलिएर आफ्नै सुरमा बसेझैँ गरी एकछिन उहाँहरुको कुराकानी सुनेँ ।

‘यै केटी हो नि अघि गजल भनेकी, मान्छे पनि राम्री कति टाँठी, अनि कति मिठो गजल भनेकी’ एउटी आन्टीले भन्दै हुनुहुन्थ्यो ।
अर्को आन्टीले त्यसमै थपिहाल्नु भयो ‘त्यै त कस्की छोरी रैछे, टाठी रैछे !’

जवाफमा अर्को आन्टीले भन्नुभयो ‘फलना कामीको छोरी हो नि !
आश्चर्य माने जस्तो अनुहार बनाउँदै अर्को आन्टीले भन्नुभयो– हो र ?

‘यति टाठी अनि राम्री पनि कामीकी छोरी पो रैछे है !
‘विचरी जति टाठी भएपनि क्यारोस कामीको छोरी न परिछ ।’

तीस-पैँतिस वर्षको जस्तो देखिने ४/५ जना महिलाहरुको समूहबाट यस्तो सुनेँ । एकछिन मन खिन्न भयो । मनमनै धेरै कुरा सोच्न पुगेँ । मलाई लाग्थ्यो, समय बदलिएसँगै हाम्रो समाज पनि बदलिँदै गएको छ ।

मानिसहरुको नकरात्मक सोच पनि बदलिँदै गएको छ । समाजले तल्लो जातिको दर्जा दिएका हामी दलितहरुप्रति हेर्ने नजर बदलिएको छ तर होइन रहेछ । सोच बदलिएको त कानुनमा अनि भाषणहरुमा मात्र रहेछ ।

साँच्चै हामी दलितहरुप्रति ठूला जात भनाउँदाहरुले हेप्नुमा या भनौँ हामी पछाडि पर्नुमा र हामीलाई एकदमै तल्लो दर्जाको सोच्नुमा समाजको सोचको दोष हो या हाम्रो आफ्नै पनि कमजोरी ? यो विषयमा मैले धेरैपटक नसोचेको पनि हैन् । जातिय छुवाछुतविरुद्ध आन्दोलनहरु नभएका पनि हैनन्, थुप्रै आन्दोलनहरु भइसके प्रतिफल स्वरुप केही मात्रामा घटेको पनि छ ।

तर, म यो पाउँदिन कि मानिसहरुले सोचमा परिवर्तन ल्याएका छैनन्, सबै मानिस उस्तै हो भनेका छैनन् । दलितलाई छुवाछुत गर्न देखावटी रुपमा मात्र बन्द गरेका छन् ।

जुन सबैलाई समान सोचेर नभई कानुनको डरले । मैले खोजेको परिर्वतन यो होइन् कि मानिसहरु कानुनको डरले दलितप्रतिको भेदभाव कम गरुन कामी, दमाइ, सार्की भन्न छाडुन् ।

मैले खोजेको परिवर्तन त यो हो मलाई (दलितलाई) कामी भनियोस् तर कामीको नाउँमा बिभेद नगरियोस । सबै मानिस उस्तै हो, सबैले सबैको सम्मान गर्नुपर्छ, धर्तीमा दुई जात छन् ती हुन् महिला र पुरुष । अरु सबै समान हौँ भन्ने सोच मानिसहरुमा चाँडै आओस यो नै हो मैले चोहेको परिवर्तन । त्यो पनि कानुनको डरले हैन् ।

दलित भन्ने बित्तिकै नराम्रो, फोहोरी, नपढेको मात्र हुन्छन् भन्ने सोच हटोस्, सुकिलामुकिला देख्नै बित्तिकै तिमी साँच्चै दलित हो र ? सानो जात जस्तो त कत्ति पनि नदेखिने, कति राम्रो भन्न छोडियोस् ।

यो प्रसङ्ग मैले किन जोड्दै छु भने म आफैले पनि पटकपटक नाम रुपा सुनार हो भन्दा नपात्याएर उल्टै बाबा आमा दुबै जना सुनार हैन् होला न्,ि मिक्स होला भनेकोसम्म भोग्दै आएकी छु ।

अझ कतिले त यस्तोसम्म पनि भनेका छन्– ‘तिमी सुनार हैन्, सुनारहरुले यति खुलेर कहाँ भन्छन र तल्लो जातिहरु त आफ्नो जात भन्नै डराउँछन् ।’

आफ्नो परिचय दिँदा यस किसिमको समस्याहरु मैले धेरै पटक भोगिसकेकी छु । हो, मलाई लाग्छ हामी दलितहरुको कमजोरी यहीँनिर हामी खुलेर अगाडि आउन सक्दैनौँ ।

हामी आफ्नो जातप्रति गर्व गर्दैनौँ, जसरी अन्य तथा जनजातिले गर्छन । जातिय विभेदको घेरालाई नागेर खुलेर आफ्नो पहिचान हामी दिदैँनौ । त्यसकाराण पनि हामी पछाडि परेका छौँ ।

कसैले नाम के हो भनेर सोध्यो भने गर्वका साथ भन्न सक्दैनौँ कि म फलाना बि.क हो भनेर । साथै सामाजिक सञ्जालहरुमा पनि आफ्नो नाम खुलाएर राख्दैनौँ ।

हामीले यसरी खुलेर आफ्नो परिचय नदिन अरुले हैन्, हामी आफैले आफैलाई सानो सम्झिएको र आफ्नो जातप्रति गर्व नभएको जस्तो देखिन्छ । तसर्थ, कसैले नाम सोध्दा ढुक्क भएर म फलानो (वि.क, नेपाली , परियार) भन्न सक्नुपर्छ । ढुक्क भएर भन्न सकौँ कि मलाई दलित भन् तर दलितको नाउँमा विभेद नगर ।

मेरो यो लेख पढिरहँदा समाजले ठूला जातको दर्जामा राखिदिएपनि सबैलाई समान सम्झेर जातिय विभेदको घेरा तोड्न सहयोग गर्ने केही साथीहरुको मन दुख्न सक्छ ।

तर अझै पनि ८० प्रतिशत मानिसहरुको सोचमा परिवर्तन आएको छैन् । जसले गर्दा दलितहरुले विविध समस्याहरु खेप्दै आएका छन् । हामी सबैले आफनो ठाँउबाट यसका लागि सकारात्मक कदम चाल्ने हो भने छिट्टै यो दिन पनि आउने छ कि हाम्रो देशमा पनि जातिय छुवाछुत हुन्थ्यो रे नि कुनै बेला । साँच्चै म यही दिनको पर्खाइमा छु ।

प्रतिक्रिया दिनुहोस्