पत्नी राधिकाले खाँदै गरेको कप प्रधानमन्त्री ओलीले खोसेपछि



काठमाडौं, १४ वैशाख

आर्मी अफिसर्स क्लवमा विहीबार मध्यान्न ३ बजे प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग उत्तरतिर फर्किएर गफिँदै थिए, प्रधानमन्त्री ओली । दक्षिणतिर बसेर कागजको कपमा चिसो पिउँदै थिइन्, पत्नी राधिका शाक्य । अवसर थियो – प्रतिनिधि सभा सांसद तथा एमाले अखिलकी अध्यक्ष नविना लामा र प्रविण श्रेष्ठको विहे भोजको ।

शाक्यले पिउँदै गरेको कप मन्द मुस्कानमा प्रधानमन्त्री ओलीले समाते र छेउमा रहेको कपमा राखे । त्यसपछि उनी सरासर त्यहाँबाट राधिकालाई लिएर हिँडे ।

१ बजेदेखि बधाई र भोजको व्यवस्था भएको कार्यक्रममा प्रधानमन्त्री २ बजे आउने भनिएको थियो । तर, उनी ३ बजे पत्नी राधिकासँगै आइपुगे । प्रधानमन्त्री आएर बधाई स्थलसम्म पुग्दा तालीको गडगडाहट थियो । बधाई दिएपछि प्रधानमन्त्री ओली विशिष्ट पाहुनका लागि घेरेर राखिएको कक्षमा पुगेका थिए । त्यहाँ मुख्यमन्त्री राई र प्रधानसेनापति राजेन्द्र क्षत्रीसहित थिए ।

गर्मीबाट आएकी राधिकाले कागजको कपमा ‘कोक’ लिएर बसेकी थिइन् । हिँड्ने हतार हुँदा प्रधानमन्त्री ओलीले उक्त कप आफ्नै हातले राधिकाको हातबाट निकाले । प्रधानमन्त्रीले हतार गर्दै कप तानिरहँदा उनलाई घेरिरहेकाहरु हाँसिरहेका थिए ।

बसेनन् प्रधानमन्त्री

विहे भोजको कार्यक्रममा प्रधानमन्त्री ओली कम्तिमा ५ मिनेट अडिएका थिए । तर, त्यो ५ मिनेट उनी बस्दा पनि बसेनन् । विशिष्ट पाहुनाका लागि राखिएको आराम कक्षमा उनी उभिएरै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र प्रधानसेनापति क्षत्रीसँग केहीबेर गफिए ।

उनीसँग हात मिलाउने र तस्बिर खिच्नेको ताँती सामान्य थिए । झन्डै ४ हजार पाहुना बोलाइएको विहेका मुख्य आकर्षण नै ओली थिए । उनी आउँदा र जाँदाको रौनक नै फरक थियो ।

‘हामीले प्रधानमन्त्री एकछिन बसेर आराम गर्नुहुन्छ भन्ने ठानेका थियौं तर उहाँलाई हतार थियो । त्यसैले नबसी फर्किनुभयो’, अनेरास्ववियुका एकजना नेताले भने, ‘जे होस् हामीले आयोजना गरेको कार्यक्रममा उहाँको उपस्थिति निक्कै रोमाञ्चक भयो ।’

प्रतिक्रिया दिनुहोस्