यी हुन् स्वघोषित बाबा र उनीहरूका कर्तुत



काठमाडौं १५ वैशाख : भारतमा जोधपुरको विशेष अदालतले बिहीबार विवादास्पद गुरु आसाराम बापुलाई किशोरी बलात्कारमा दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनायो । उपचार गर्ने बहानामा आफैँले खोलेको विद्यालयमा पढ्ने किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पाँच वर्षअघि पक्राउ परेका थिए । आफ्नै अनुयायीका छोरीलाई बलात्कार गरेपछि कथित गुरु आसारामको अँध्यारो पाटो सार्वजनिक भएको हो । आसारामविरुद्ध दिल्ली, हरियाणा, राजस्थान, उत्तर प्रदेश, गुजरातलगायतका राज्यमा पनि बलात्कार र हत्याको मुद्दामा अदालतमा सुनुवाइ भइरहेको छ । बलात्कार र यौन दुव्र्यवहारको आरोपमा भारतमा पक्राउ पर्ने र अदालतबाट दोषी ठहर हुने कथित गुरुमा आसाराम पहिलो भारतीय होइनन् । कथित गुरुको आवरणमा बलात्कार, हत्या र यौन अपराध मच्चाउने एउटा जमात नै छ । प्रस्तुत छ भारतका केही स्वघोषित गुरु र उनीहरूका कर्तुत :

 

नारायण साई
आसाराम बापुका छोरा तथा स्वघोषित गुरु नारायण साई भारतमा बलात्कार र यौनकान्ड मच्चाउने कथित गुरुको सूचीमा अग्रपंक्तिमा पर्छन् । आसारामको आश्रममा सन् २००२ देखि २००५ को अवधिमा महिलामाथि दुव्र्यवहार र बलात्कार गरेको अभियोगमा नारायण साई अहिले जेलजीवन बिताइरहेका छन् । उनीमाथि सात किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतमा अर्को छुट्टै मुद्दा चलिरहेको छ । ती किशोरीमध्ये अधिकांश उनका अनुयायी हुन् । आफूमाथि यौन दुव्र्यवहारको आरोप लगाउँदै सन् २०१६ को नोभेम्बरमा एक टेलिभिजन च्यानलकी पत्रकारले उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । नयाँदिल्लीस्थित कारोल बाघ आश्रममा अन्तर्वार्ता लिने क्रममा ती गुरुले पत्रकारको स्तन सुमसुम्याएका थिए । गुरुको दबाब र मिलेमतोमा टेलिभिजन च्यानलका प्रमुखले मुद्दा नचलाउन दबाब दिएको ती सञ्चारकर्मीले बताएकी थिइन् ।

स्वामी गंगेसानन्द
गत वर्ष केरलाकी एक महिलाले एक स्वघोषित धर्मगुरुको लिंग काटेर हतारमा प्रहरीसमक्ष आत्मसमर्पण गरिन् । गंगा सवातपडा स्वामी नामले परिचित एक गुरुले बलात्कार गरेपछि आक्रोशित किशोरीले गुरुको लिंग नै चट पारिदिएकी थिइन् । ५४ वर्षीय स्वामीले विगत पाँच वर्षदेखि ती किशोरीलाई निरन्तर बलात्कार गरेका थिए । गुरुको कथित अत्याचार सहन नसकेपछि किशोरीले बदला लिएकी थिइन् । उनलाई तत्कालै भारतको एक मेडिकल कलेजमा उपचार गरिएको थियो ।

सन्त रामपाल
सन् २०१४ को नोभेम्बरमा एउटा आश्रममा बसेका अनुयायीले त्यहाँबाट उम्किन ठूलो संघर्ष गरिरहेका थिए । तर, उनीहरूलाई आश्रम नछाड्न कडा निर्देशन दिइएको थियो । उद्धारका लागि खटिएका सुरक्षाकर्मीलाई अवरोध गर्न शिविरको प्रवेशद्वारमा अनुयायीहरूलाई मानव ढाल बनाइएको थियो । प्रहरी र आश्रमका सेनाबीच ठूलै घम्साघम्सी भयो । जब झडप अन्त्य भयो, हजारौँ अनुयायीको लस्कर आश्रमबाट बाहिर निस्कियो । उनीहरूलाई धेरै दिनदेखि रामपालका सहयोगीले बन्धक बनाएका थिए । आश्रममा प्रहरी पुग्दा पाँच महिला र एक शिशु मृत अवस्थामा भेटिएका थिए । आश्रमस्थलभित्र गुरुले महिला र किशोरीमाथि यौन दुव्र्यवहार गर्थे । आफूलाई रामपालको छोराको कोठामा बस्न बाध्य पारिएकी २७ वर्षीया एक महिला अनुयायीले गुनासो गरेकी थिइन् । उनका अनुसार केही युवतीलाई आफ्नो चेम्बरमा लगेर रामपालले यौन प्यास मेट्थे । हत्या, अपराध आरोपमा ६ वटा मुद्दा लागेका रामपाल अहिले जेलजीवन बिताइरहेका छन् ।

स्वामी नित्यानन्द  
सन् २०१० को मार्चमा एउटा आपत्तिजनक भिडियो एक स्थानीय समाचार च्यानलमा सार्वजनिक भयो । भिडियोमा स्वघोषित स्वामी नित्यानन्द सानो पर्दाकी एक नायिकासँग मस्त यौनकार्यमा लिप्त देखिन्थे । सो भिडियोले ती कथित गुरुको वास्तविक कर्तुत पर्दाफास मात्र गरेन भारतमा स्वघोषित गुरुको नाममा कतिसम्म निम्नस्तरको कार्य हुन्छ भन्ने खुलासा भएको थियो । भिडियो सार्वजनिक भएपछि आफूले केवल सहवासको ‘प्राक्टिस’ गरेको भन्दै गुरुले आफ्नो कार्यको बचाउ गरेका थिए । आफू शारीरिक रूपमा अशक्त भएको र लिंग नै उत्तेजित नभएकाले कुनै पनि महिलासँग शारीरिक सम्पर्क गर्न नसक्ने उनले दाबी गरेका थिए । त्यसअघि उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको थियो । अनुसन्धानका क्रममा प्रहरीले उनको आश्रमस्थलबाट कन्डम, ड्रग्स, परिवार नियोजनका अन्य साधनलगायतका औषधि फेला पारेको थियो । प्रहरीका अनुसार आश्रममा फेला परेका केही औषधि यौन उत्तेजना बढाउने थिए । जुन २०१२ मा पक्राउ परेका उनी ५२ दिन जेलको हावा चाखेर धरौटीमा रिहा भएका थिए ।

गुर्मित रामरहिम सिंह
डेरा सच्चा सौदा नामक एक धार्मिक समूहका प्रमुख गुरु रामरहिम सिंह विवादका पर्यायी नै हुन् । आफ्ना करोडौँ समर्थक रहेको दाबी गर्ने स्वघोषित धर्मगुरु रामरहिमलाई झन्डै १५ वर्ष‌अघि दुई महिलामाथि बलात्कार गरेको अभियोगमा अदालतले गत वर्ष दोषी ठहर गरेपछि सन् २०१७ को अगस्टदेखि उनी जेलजीवन बिताइरहेका छन् । आफूलाई धार्मिक गुरु, अभिनेता, निर्देशक, गीतकार तथा रकस्टार बताउने ‘बाबा’विरुद्ध सन् २००२ मा डेरामा साधकविरुद्ध बलात्कार गरेको आरोप लागेको थियो । हरियाणा राज्यको पंचकुला नगरको एक अदालतले उनीविरुद्ध फैसला सुनाएपछि भड्किएको हिंसामा ३२ जनाको मृत्यु भएको थियो ।

बलात्कार, हत्यादेखि उनले धार्मिक भावनलाई चोट पुर्‍याउने गुरमित कथित बाबाको आवरणमा एकपछि अर्को स्क्यान्डल मच्चाएका थिए । कथित आध्यात्मिक नेता रहिममाथि एक अनुयायी र पत्रकारको हत्या गरेको पनि आरोप लागेको छ । सन् २०१५ को विधान सभा निर्वाचनमा डेरा सच्चा सौदाले भारतीय जनता पार्टीलाई समर्थन गरेको थियो भने भाजपाका दर्जनौँ उम्मेदवारले बाबा रामरहिमको अगाडि नतमस्तक बनेर शिर झुकाएका थिए । १० कक्षा पढ्दा–पढ्दै अध्ययनलाई पूर्णविराम लगाएका रामरहिमले प्रियंका नामक युवतीलाई धर्मपुत्रीका रूपमा ग्रहण गरेका थिए । पछि उनको नाम परिवर्तन गरेर हनिप्रीत बनाइदिएका थिए । हनिप्रीतबाहेक उनका पत्नी र छोराछोरी पनि छन् ।

 स्वामी परमानन्द
सन् १९८४ मा युद्धले तहसनहस भएको श्रीलंकाबाट भारत पुगेका रामशंकर तिवारीले सन्तान दिने नाममा महिलामाथि बलात्कार गर्थे र भिडियो बनाएर ब्ल्याकमेल गरेर महिलामाथि यौन शोषण गर्थे । सन् १९९४ मा एक युवतीले परमानन्दले बलात्कार गरेर आफू गर्भवती भएको उजुरी दिएकी थिइन् । सन् १९९७ मा परमानन्द र उनका ६ सहयोगीमाथि १३ बालिका बलात्कारको अभियोग लागेको थियो । एकपटक परमानन्दको आश्रमको बिग्रिएको कम्प्युटर मर्मत गर्ने क्रममा पसलेले आश्रममा तयार पारिएको एउटा अश्लील भिडियो फेला पारेर भाइरल बनाइदिएका थिए । प्रहरीले छापा मार्दा आश्रमबाट अश्लील भिडियोका सिडी तथा अश्लील पुस्तकहरू फेला पारेका थिए । सन् २०१६ मा पक्राउ परेका ६५ वर्षीय बाबा अहिले लखनउमा जेलजीवन बिताइरहेका छन् । याे समाचार अाजकाे नयाँ पत्रिकाले छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्